Butwal Today

महिला टी-२०आई शृंखला:नेपाल थाइल्याण्डसँग ६ रनले पराजित भएसँगै उपाधि होडबाट बाहिर

२२ माघ २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ ।

काठमाडौँमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलामा आफ्नो चौथो खेलमा नेपाल पराजित भएको छ। थाइल्याण्डसँग ५ रनले पराजित भएसँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो। नेपालका लागि कविता जोशीले सर्वाधिक २४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन। थाइल्याण्डका लागि थिपाथ्चा पूथावोङले ४ ओभरमा १० रन दिएर ४ विकेट लिइन् भने फनिता मायाले २ विकेट लिइन्।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनाएको थियो। थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ रन बनाए भने थिपाथ्चा पूथावोङले अविजित २५ रन जोडिन्। नानपत कोन्चारोन्काइले १९ रन बनाइन्। ५६ रनमा ६ विकेट गुमाएको अवस्थाबाट चनिदा र थिपाथ्चाले मिलेर अविजित अर्धशतकीय पारी खेले।

नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन्। पुजा महतो र रचना चौधरीले १-१ विकेट लिए। रचनाले नेपालका लागि टी-२०आईमा डेब्यू विकेट लिएकी हुन्।

नेपाल पछिल्ला तीनवटै खेलमा पराजित भएको थियो। शृंखलामा जित्ने सम्भावना कायमै राख्न नेपाललाई यस खेल जित्नैपर्ने दबाब थियो। अब नेपालले बाँकी दुवै खेल जितेपनि उपाधिका लागि पर्याप्त हुनेछैन।

सबै टोलीले एकअर्कासँग ३-३ खेल खेल्ने शृंखलामा थाइल्याण्डको यो लगातार चौथो जित हो। योसँगै थाइल्याण्ड उपाधि होडमा बलियो देखिएको छ।