Butwal Today

विश्व शान्तिको लागि बुटवलमा कांग्युर पाठ बाचन हुने

२१ माघ २०८१, सोमबार
अ+
अ-

बुटवल, २१ माघ ।

विश्व शान्तिको कामना गर्दै बुटवलमा कांग्युर (त्रिपिटक) पाठ बाचन अनुष्ठान यज्ञ सञ्चालन हुने भएको छ । रुपन्देहीसहित देशका विभिन्न जिल्लाहरुबाट ७७ हजार बढी भक्तजनले पूजा पाठका लागि सहभागी हुने अपेक्षा गरिएको छ ।

गुरुङ डाँडा व्यवस्थापन समिति बुटवलको आयोजनामा आगामी शुक्रबारदेखि माघ ३० गतेसम्म यज्ञ सञ्चालन हुन लागेको हो । बुटवलको चाँदबारीस्थित गुरुङ डाँडा व्यवस्थापन समितिको कार्यालयमै हुने अनुष्ठानमा बौद्ध विद्वान खेन रिन्पो शिर लामा गुरुबाट कांग्युर बाचन तथा पुण्य संचय विषयमा धर्म देशना हुने आयोजक समितिका संयोजक जमुना गुरुङले जानकारी दिइन् । अनुष्ठान कार्यक्रममा हरेक दिन कांग्युर बाचन तथा पितृहरुको नाममा दान, पूजापाठ, दीप प्रज्जवलन लगायतका धार्मिक कार्यहरु हुने उनले जानकारी दिइन् ।

कांग्युर अनुष्ठान बारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङ डाँडा व्यवस्थापन समितिका अध्यक्ष आशबहादुर गुरुङले कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताए । अनुष्ठानमा कुनै पनि जातजातिले सहभागिता जनाउन सक्ने बताउँदै उनले गुरुङ समुदायको मात्र नभई सबै नेपालीहरुले पूजापाठमा सहभागी भए पितृलाई मोक्ष प्रदान गर्नुका साथै विश्व जगतलाई शान्तिको कामना गर्न सकिने उल्लेख गरे । अनुष्ठान अन्तर्गत सम्पूर्ण प्राणी जगतको मोक्षका लागि होम कार्यसमेत गरिने समितिका संस्थापक अध्यक्ष तथा संरक्षक सर्वराज गुरुङले बताए ।

समितिका निर्वतमान अध्यक्ष तथा सल्लाहकार देवप्रसाद गुरुङले बौद्ध दर्शन अनुसार सबैभन्दा ठूला अनुष्ठानको रुपमा रहेको टिंग्युरपछिको अनुष्ठा नै किंग्युर भएको बताउँदै कम खर्चमा पनि मोक्ष प्राप्तिका लागि अनुष्ठानमा सहभागी हुन आह्वान गरे । समितिले २०७९ सालमा यज्ञहरु मध्येको सबैभन्दा सानो अनुष्ठान मानिने हिंयुपति गरेको थियो भने यस वर्ष कंग्युर अनुष्ठा गरेर आगामी वर्षमा सबैभन्दा ठूला मानिएको टिंग्युर गर्ने योजनामा रहेको सल्लाहकार झपटबहादुर गुरुङले बताए ।

यज्ञमा भोजन दानका लागि ७ हजार, नास्ता दानका लागि ४ हजार, चिया दानका लागि २ हजार, पुस्तक ठेली बाचनका लागि १ हजार ५ रुपैयाँ, १०८ दीप प्रज्जवलनका लागि १ हजार ५ रुपैयाँ, मूल बत्तीका लागि ७ सय, ६ सय र ५ सय रुपैयाँ दानशुल्क तोकिएको समितिका सहसचिव दलबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार पूजा अनुष्ठानका लागि रकम संकलनको काम सुरु भइसकेको छ । सोमबार यज्ञका लागि मिनकाउरी गुरुङ र उनको परिवारबाट ३ लाख बढी आर्थिक रकम प्राप्त भएको तथा संरक्षक सर्वराज गुरुङले १ लाख रकम दान घोषणा गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?