© २०२३
कपिलवस्तु, २१ माघ ।
माध्यमिक तहको शिक्षाको गुणस्तर सुधारमा स्थानिय तहको भूमिका महत्वपूर्ण हुने पूर्वमन्त्री तथा पूर्व सांसद बृजेश कुमार गुप्ताले बताएका छन् । तौलिहवा स्थित जिल्लाकै पुरानो श्री बुद्ध पद्य माध्यमिक विद्यालयमा आयोजित सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रममा बोल्दै उनले स्थानिय तहको भूमिकाले शिक्षाको गुणस्तर सुधारिने बताए । जिल्लाकै र नेपालकै पुरानो विद्यालय मध्यको सो विद्यालय बुटवलको कालिका मानव ज्ञान विद्यालय जस्तै बनोस् भन्ने आफ्नो चाहना रहेको उनले स्पष्ट पारे । संविधानले माध्यमिक तहको शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानिय तहलाई दिएकाले बुद्धको नाम रहेको यो विद्यालयलाई नगरकै नमुना विद्यालयको रूपमा स्थापित गर्न नगर अग्रसर हुनु पर्ने उनले सुझाव दिए । कुनै व्यक्तिले मात्रै नभई शिक्षक, अभिभावक र नीति निर्माताले इच्छाशक्ति राखे विद्यालयको अवस्था सुधार हुने उनको भनाइ थियो । अब विद्यार्थीले शिक्षाको साथ आफ्नो लक्ष्य निर्धारण गरेर रुचि अनुसारको शिक्षा ग्रहण गर्नु पर्ने अवस्था आएको पूर्व सांसद गुप्ताले बताए ।
विद्यालयको अवस्था सुधारका लागि नविनतम योजना र रचनात्मक कार्यक्रमलाई विद्यालयले प्राथमिकता दिईरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आजाद अहमद दर्जीले बताए । १९९७ सालमा स्थापित विद्यालयमा अध्ययनरत विद्यार्थीको रचनात्मकता र सिर्जनात्मकतालाई पहिचान गर्ने वातावरण तयार पार्न आफुहरु प्रयासरत रहेको विद्यालयका प्रधानाध्यापक बाबुराम भण्डारीले स्पष्ट्याए । विद्यालयले छिट्टै बहुबर्षीय शैक्षिक योजना निर्माणका लागि बहुपक्षीय गोष्ठीको आयोजना गरेर ठोस योजनासँग अगाडि बढ्ने भण्डारीले बताए । स्थानिय कला र संस्कृतिको संरक्षणात्मक गतिबिधिमा विद्यार्थीलाई प्रोत्साहित गर्दै आएको उनको भनाइ थियो ।

विद्यालयको अवस्था सुधार र शैक्षिक कार्यक्रमलाई प्रबर्द्धनका लागि पूर्व विद्यार्थी सङ्गठित भई सामाजिक कार्यमा सक्रिय भएको पूर्व विद्यार्थी मञ्चका अध्यक्ष संजय लम्सालले बताए । विद्यार्थी लक्ष्मी हरिजनको सञ्चालन र पिकीं मिश्राको स्वागत गीतमा सम्पन्न कार्यक्रममा पूर्व वडा अध्यक्ष रामभजन कलवार, विद्यालयका पूर्व प्रधानाध्यापक रामनिवास चौधरी, नजिवुल्लाह मुसलमान, व्यवस्थापन समितिका सदस्यहरु, पूर्व शिक्षकहरु हबिव अहमद, विद्यानीवास त्रिपाठी, कमला श्रेष्ठ, बिरेन्द्र त्रिपाठी र पूर्व विद्यार्थी मञ्चका पदाधिकारीले कक्षागत रूपमा उत्कृष्ट छात्रछात्रालाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
त्यस्तै गरी पूर्व विद्यार्थी मञ्चको सहयोगले स्कुल ब्याग र सिनेमा सतरंगको सहयोगले स्टेशनरी सामग्री अनुशासन, सिर्जनशीलता र पिटी अभ्यासमा उत्कृष्ट छनोट भएका ६ जना छात्रछात्रालाई गंगा त्रिपाठी, अनुज कुमार चौधरी, दीपक चौधरी, खुसी चौधरी, पिहु पाण्डेय र रोहन सुनारलाई हस्तान्तरण गरिएको थियो ।