Butwal Today

माघमै वन डढेलो नियन्त्रणमा जोखिम बढ्दै

२१ माघ २०८१, सोमबार
अ+
अ-

सल्यान, २१ माघ ।

सल्यानमा वन ढडेलो सुरु भएको छ । वर्षेनी डढेलोले सताइरहेको सल्यानमा यस वर्ष माघ महिनामै वन डढेलो लागेको हो । जिल्लाको बागचौर नगरपालिका–१० भाटभिटे स्थित लालिगुराँस सामुदायिक वनमा डढेलो लागेको हो । शुक्रबार दिउँसो करिब २ बजेदेखि सुरु भएको डढेलो शनिबार करिब ५ बजेतिर मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हिउँदे वर्षा नभएका कारण सुख्खा बढ्दै गएको अवस्थामा सल्लै सल्लाको जंगलमा लागेको आगो तीव्र गतिमा फैलिएको थियो । आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय दमाचौरबाट खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने प्रयास गरेको थियो । तर शनिबार अबेरसम्म पनि आगो नियन्त्रणमा आउन सकेको थिएन । आगो स्थानीय बस्तीमा फैलने खतरा बढेपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपानेको कमाण्डमा थप प्रहरी टोली परिचालन गरिएको थियो । स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासपछि शनिबार बेलुकी ५ बजेतिर पूर्ण रूपमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै पनि मानवीय तथा पशुचौपायको क्षति नभएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जनाए ।

हिउँदे वर्षा नहुँदा सुख्खा बढेकाले आगलागीको जोखिम अझै उच्च देखिएको छ । विशेष गरी सल्लाको जंगल भएका क्षेत्रमा आगलागी चाँडै फैलिने भएकाले सचेत रहनु जरुरी रहेको प्रहरीले जनाएको छ । आगलागी हुन नदिन सावधानी अपनाउन आग्रह गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि समुदायस्तरबाट सतर्कता आवश्यक रहेको प्रहरीको भनाई छ ।