© २०२३
सुर्खेत, २० माघ ।
सुर्खेतको वीरेन्द्रनगरकी एक २७ वर्षीया युवतीमाथि अदालतमा पाँचवटा मुद्दा दायर भएका छन्। वीरेन्द्रनगरमा बुटिक व्यवसाय गर्दै आएकी सुस्मिता परियारमाथि फरक–फरक पाँच मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। ती युवती विभिन्न व्यक्तिबाट सामान लिने तर रकम तिर्दा चेक छाडेर फरार हुँदै आएकी थिइन्। तिनै सुस्मितालाई प्रहरीले काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो।वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थायी ठेगाना उल्लेख गरेको प्रहरीले सुस्मिताको नाममा जिल्ला अदालत सुर्खेतमा पाँच वटा मुद्दा दर्ता भएको तथ्य खुलेको छ। काठमाडौं महानगरपालिका–२९ अनामनगरबाट पक्राउ परेकी सुस्मितालाई प्रहरीले यही माघ १५ गते सुर्खेत ल्याएको थियो।
सुस्मिताका नाममा विभिन्न समयमा चेक अनादर मुद्दामा एक वर्ष कैद तोकिएको रेकर्डमा उल्लेख छ। पक्राउ गरेर सुर्खेत ल्याएपछि उनको रकर्डमा थप चार मुद्दा रहेको भेटिएको प्रहरीले जनाएको छ। ती युवती अहिले कारागार चलान भइसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी बिरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।सुस्मिताका नाममा २०८० सालमा विभिन्न समयमा चार वटा थप मुद्दा अदालतमा दर्ता भएका छन्। २०८० बैशाख ४ मा चार लाख, जेठ १४ मा पाँच लाख, असोज ९ गते दुई लाख र असोज २१ गते १८ लाख विगोसहितको मुद्दा अदालतमा दर्ता भएको छ। चेक बाउन्सका मुद्दा थपिदै जाँदा पाँच वटा पुगेको डिएसपी विश्वकर्माले बताए।