© २०२३
बुटवल, १८ माघ । फुटबल खेलको उर्वरभुमिका रुपमा परिचित रुपन्देहीमा थप नया फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा माघ २२ गतेदेखि लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको हो ।
प्रतियोगिता आयोजनाका लागि सिद्धेश्वर खेलमैदान दिनरात गरि मर्मत भैरहेको छ । नगरभित्र फुटबल खेल्ने मैदानको अभाव रहेको बेला क्लबको अगुवाईमा मैदानलाई ग्रेडर लगाउने, रोलर लगाएर सम्याउने काम सम्पन्न भएको छ । ‘हामीले दिनरात गरि एक हप्तामा मैदानलाई तिब्र रुपमा तयार गरेका छौ ।’–क्लबका अध्यक्ष सुदिप खत्रीले बताए ।
क्लबका सबै सदस्यहरुको श्रमदानबाट मैदानलाई तयार गर्न लागेको उनले बताए । सामाजिक क्षेत्रमा श्रमदान गरेर चर्चामा आएको क्लब खेल विकासमा अग्रसरता देखाउन लागेको उनले बताए । ‘सुख्खानगर क्षेत्रमा लत्रेको विद्युत तारहरु ब्यवस्थापन गर्ने काम विगत २ वर्षदेखि गर्दै आएका छौ ।’– उनले भने । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।
कार्यक्रममा क्लबका संरक्षक संयोजक राम बहादुर थापाले फुटबल खेलको हबका रुपमा रहेको रुपन्देहीमा नया फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बताए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १, ५१, ५१५ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ७५,७५७ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद १०, ५०० सहित अन्य चार जना उत्कृष्ट खेलाडीहरुलाई नगद ५,५५५ रुपैया, कपबाट पुरस्कृत गरिने उनले बताए । रुपन्देही, नवलपरासी गरि १६ टिमले भाग लिने प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान रहेको उनले बताए ।
कार्यक्रममा क्लबका सचिव निरन्जन पन्तले खेल मैदानमा अन्य गतिविधि आयोजना गरिदा अहिले मैदान मर्मतमा केही ढिलाई हुन गएको दुखेसो गरे । सिद्धेश्वर खेलमैदानलाई पुरानै रुपमा ल्याउन धेरै मेहनत भएको उनले बताए । धेरै लामो समयपछि आफुहरु प्रतियोगिता आयोजना गर्न लाग्दा समन्वयमा केही कठिनाई भएको उनले बताए ।