© 2026
तिलोत्तमा, १९ गते ।
रुपन्देहीको तिलोत्तमा–२ शंकरनगरस्थित पामिर इन्टरनेशनल एकेडेमीकोे १७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रबार आयोजित मूल समारोहमा बोल्ने वक्ताहरुले सर्वसुलभ, प्रविधिमैत्री तथा जीवनउपयोगी शिक्षा आजको आवश्यकता भएको बताएका छन् ।
वक्ताहरुले पामिर इन्टरनेशनल एकेडेमीले शैक्षिक क्षेत्रमा गरेको प्रगति साँच्चिकै लोभलाग्दो रहेको भन्दै अहिलेको पुस्तालाई परम्परागत शैलीले ज्ञान नपुग्ने औल्याएका छन् । विद्यालय प्राँगणमा आयोजित कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष डिलबहादुर भट्टराईले शिक्षा नीतिलाई कस्तो र कसरी अगाडि बढाउने भन्ने कुरा शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारको हातमा रहने बताए । उनले परम्परागत भन्दा पनि आधुनिक शिक्षा प्रणाली अवलम्बन गर्नुपर्ने भन्दै त्यसमा पामिर एकेडेमी शत प्रतिशत सफल देखिएको प्रष्ट पारे ।
कार्यक्रममा विद्यालयका अध्यक्ष मोहन चापागाईले अध्यक्षको प्रतिबेदन पेश गर्दै उच्च कोटीको शिक्षा प्रदान गर्न विद्यालयले नयाँ नौला र परिणाममुखी अभ्यासहरु गरिरहेको जानकारी दिए । उनले सँस्थागत विद्यालयहरुको माझमा पामिर इन्टरनेशनल एकेडेमी आफैमा नमुना विद्यालयको रुपमा स्थापित भएको बताए ।
विद्यालयका प्रधानाध्यापक गोपाल गौतमले विद्यालयको वार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रममा अक्षयकोषदाता रामबाबु खढ्का, विद्यालयमा कार्यरत तथा ५ बर्षभन्दा बढी समय ब्यतित गरेका शिक्षक, शिक्षिका र कर्मचारी सँगै उत्कृष्ट अँक ल्याउने विद्यार्थीहरु, समाजसेवीहरु, जनप्रतिनिधि लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अभिभावक सँघ रुपन्देहीका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, वडा सदस्यहरु डोरबहादुर थापा, खेमराज पाठक, पूर्णकला विक, नेपाल रेडक्रस शाखा मणिग्राम सभापति टेकबहादुर थापा, टोल विकास समिति तथा सन्जालका अध्यक्षहरु, आमा समूहका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न क्लवका अध्यक्ष तथा पदाधिकारी, समाजसेवी, अभिभावक, शिक्षक कर्मचारी लगायतको सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरुले नृत्य, प्रहसन, नाटक तथा गीत सँगीत आदिमा प्रस्तुति दिएका थिए । कार्यक्रममा विद्यालयका शिक्षक केशव खनालले पनि विद्यालयका गतिविधिमाथि प्रकाश पारेका थिए ।