© २०२३
काठमाडौँ ।
पाँच महिनापछि खुलेको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बोल्ने कार्यसूची छ।
यस्तै संसद्मा रहेका अन्यदलका शीर्ष नेताले पनि धारणा राख्ने तय भएको छ। सरकारले ल्याएका ६ वटा अध्यादेशहरू शुक्रबारकै बैठकमा पेस हुनेछ। दलीय आधारमा नेताहरूले धाराणा राखेपछि अध्यादेश पेस गर्न सभामुख देवराज घिमिरेले अनुमति दिनेछन्।
प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार संसद्को कार्यसूचीअनुसार नै बैठक सञ्चालन हुनेछ। ‘भोलि प्रधानमन्त्री, शीर्ष नेताहरू बोल्ने भएकोले अरु बाँकी रहेका निर्णय त्यहीँ गरिन्छ। यद्यपी सरकारलाई अध्यादेश पेस गर्न भने रोकिने छैन’ उनले भने ,’अध्यादेशमाथिको विरोधका कार्यक्रम त्यसपछिको संसद् बैठकमा गर्छौँ।’
त्यस्तै अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट पार्टी उपसभापतिसमेत रहेका सांसद डा.स्वर्णिम वाग्लेले बोल्ने तय भएको सचेतक निशा डाँगीले जानकारी दिइन्।
‘संसद् बैठक सुरु भएलगत्तै हाम्रातर्फबाट आकस्मिक समयको माग हुन्छ,’ उनले भनिन्, ‘आकस्मिक समय मिलेको खण्डमा माननीय सोविता गौतमले दलको तर्फबाट बोल्नुहुन्छ। भोलिको बैठकमा विरोधका कार्यक्रम छैन।’
कार्यतालिकाअनुसार शीर्ष नेताले बोल्ने समय आउँदा पार्टी उपसभापतिसमेत रहेका सांसद डा.स्वर्णिम वाग्लेले बोल्नेछन्। सरकारको तर्फबाट अध्यादेश पेस भएलगत्तै रास्वपाले अस्वीकारको प्रस्ताव पेस गर्न अनुमति माग्नेछ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्षसमेत रहेका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले नै बोल्ने तय भएको छ। यीबाहेक संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताले पनि धारणा राख्नेछन्। नेताहरूले धारणा राखिसकेपछि अध्यादेश पेस हुने कार्यसूची छ।
शुक्रबारको बैठकमा ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ प्रतिनिधिसभामा पेस गर्ने सम्भावित कार्यसूची छ।
कार्यसूचीबारे सभामुख देवराज घिमिरेले कार्यसूचीका विषयमा दलका प्रमुख समेतक तथा सचेतकहरूसँग छलफल गरिसकेका छन्। हिउँदे अधिवेशनको पहिलो दिन शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताले बोल्नेछन्। शुक्रबारको पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले कसरी प्रस्तुत गर्ने भन्ने खाका तयार पारेको छ। बैठक शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ।