Butwal Today

प्रधानमन्त्रीको दावी: मुलुकमा आर्थिक क्रियाकलाप बढ्यो, देखाए यस्तो तथ्यांक

१८ माघ २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं, १८ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक गतिबिधि बढिरहेको दावी गरेका छन्।हिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको आर्थिक उपलब्धीको तथ्यांक पेश गरेका छन्।‘हामी संसदमा पक्ष प्रतिपक्ष हौं, तर देशको विकास, सुशासन र नागरिकको जीवनस्तर उकास्ने कुरामा पनि पक्ष विपक्ष हुन्छ र?’ ओलीले प्रश्न गर्दै भने, ‘बैंकमा लगानीयोग्य पैसा छ, तर कोही व्यवसायी ऋण लिएर किन लगानी गरिरहेका छैनन्? विदेशबाट रेकर्ड ब्रेक रेमिट्यान्स भित्रिंदा पनि किन बजारमा मागमा कमी आइरहेको छ? घरजग्गा व्यवसाय किन सुस्तायो?’

यस अवस्थालाई सरकारले सावधानीपूर्वक नियालिरहेको जनाउँदै ओलीले भने, “यो ‘अवस्था परिवर्तन’ गर्न हामीले कम्मर कस्यौं– निजी क्षेत्रको मनोबल उकास्न, देशमा लगानी र व्यवसायिक वातावरण बनाउन, सुशासन र नागरिकको जीवनमा प्रभाव पार्ने वर्षौदेखि गर्न नसकिएको कानुन सुधारको काम यस पटक अध्यादेशमार्फत एकै पटक फत्ते ग¥यौं। यसप्रति म थोरै पनि नहिच्किचाई भन्न चाहन्छु– यो जनताको सरकारले जनताका लागि गरेको काम हो।”

अध्यक्ष ओलीले थपे, “अध्यादेशको होस् वा विधेयकको विषय, उसमाथि हुने हाम्रा बहसलाई इस्यु आधारित बनाऔं, गुण–दोषका आधारमा गर्ने–नहुनेतिर केन्द्रित गरौं, सार्वजनिक खपतको प्रचारबाजीमा सीमित नराखौं।”

उनी भन्छन्, “मैले बताइरहनु पर्दैन, हामीले सरकारको जिम्मा लिइरहँदा देशको स्थिति जर्र्जर थियो। २०४६ सालपछिको पुस्ताले यति चरम निराशा सायद पहिलो पटक अनुभव गर्‍यो।”

प्रधानमन्त्री ओलीले आर्थिक प्रगतिको केही तथ्यांक पनि प्रस्तुत गरेका छन्:

  • चालु आर्थिक वर्षको ६ महिनाको पूँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको तुलनामा राजस्व संकलन १३ प्रतिशत बढी छ।
  • नेपाल सरकारको कुल खर्च गत वर्षको यसै अवधिको तुलनामा १७.८ प्रतिशतले वृद्धि भएको छ।
  • चालु आर्थिक वर्षको ६ महिनामा वस्तु निर्यात ३१.८ प्रतिशतले बढेको छ।
  • चालु आर्थिक वर्षको ५ महिनामा विदेशी विनिमय सञ्चिति १६ अर्ब, ७६ करोड अमेरिकी डलर रहेको छ।
  • अघिल्लो वर्षको तुलनामा ५ महिनाको कर्जा बृद्धि ४६ अर्बले बढी भएको छ।

प्रधानमन्त्री ओलीले सरकारको कामको मूल्याङ्कन गर्नका लागि ६ महिनाको समय चाहिन्छ भन्ने धारणा राख्दै मुलुकमा साकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे।