Butwal Today

कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस्: ओली

१८ माघ २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले कसैसँग दम भए आफूले भ्रष्टाचार गरेको कुरा ल्याउन चुनौती दिएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। उनले भने, “म दावासाथ भन्छु, दुनियाँको अगाडि उभिएर भन्छु, भ्रष्टाचार गर्दिनँ, कसैसँग दम छ भने भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस्।”

ओलीले संसदको पाँचौं अधिवेशन वजनदार र सकारात्मक होस् भन्ने सरकारको अपेक्षा रहेको बताए। उनले भने, “झुटा आरोप र लान्छनामा संसद केन्द्रित नहोस्, देशको विकास र सुशासनको पक्षमा सरकारलाई गम्भीर सुझाव दिनुहोस्।”

संसदलाई सबैको विचार व्यक्त गर्ने ठाउँ मान्दै ओलीले यहाँ सबैले थिति, विधि र नियमअनुसार अभिव्यक्ति राख्नुपर्ने बताएका छन्। उनले भने, “सरकारले कहीँ आलोचनायोग्य काम गरेको छैन। कसैले पनि सन्तोषजनक काम गरेको भनेर कसैले नभनेको, बरु हावादारी कुरा गरिरहेका छन्।”

प्रधानमन्त्री ओलीले स्वीस बैंक, टेलिकम र अन्य संस्थामा राखिएको अर्बौं रकमको अफवाह र आरोपको विषय उठाउँदै भने, “कसैले स्वीस बैंकमा यति अर्ब राखेको छ, टेलिकममा यति अर्ब राखेको छ भन्ने कुरा फैलाइरहेका छन्। पहिले पशुपतिमा सुन भनेर पित्तल राख्यो भनेर कराउनेहरू पनि यतैतिर लागिपरेका छन्।”

सरकारको आलोचना गर्ने कामको महत्व स्वीकार गर्दै ओलीले भने, “सरकारका कामको रचनात्मक आलोचना हुन जरुरी छ। गलत कामबाट रोक्न टिप्पणी गर्नुहोस्, तर चरित्रहत्या गर्नेगरी कपोलकल्पित र निराधार हल्ला गर्नु भनेको गलत हो।”