© 2026
सुर्खेत, १७ माघ।
कर्णालीका १ लाख २० हजार बढी किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप लगाइँदै छ। यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने अभियानमा एक लाख २० हजार ५ सय १० जना किशोरीलाई खोप लगाउन लागिएको हो।
नियमित खोपको लक्षित समूह अन्तर्गतका २१ हजार ६ सय ५७ जना किशोरी र अभियानको लक्षित समूह अन्तर्गतका ९८ हजार ८५८ किशोरीलाई एचपीभी खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार नियमित खोपको लक्षित समूह अन्तर्गत कक्षा ६ मा अध्ययनरत २० हजार २ सय २३ र अभियानको लक्षित समूह अन्तर्गत कक्षा ७ देखि १० मा अध्ययनरत ७९ हजार १ सय ३४ किशोरीलाई उक्त खोप लगाइने छ। विद्यालय नजाने छात्राहरूलाई पनि खोप अभियानमा समेटिने जनाइएको छ।
खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने भएतापनि कर्णालीका हिमाली क्षेत्रहरूमा भौगोलिक कठिनाइका कारण केही ढिलाइ पनि हुन सक्ने निर्देशनालयले जनाएको छ।महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर मुख्य कारण भएको स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए। उनका अनुसार स्वास्थ्य संस्थाले ६ देखि १० कक्षासम्म अध्ययन हुने हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर ती कक्षाका सबै छात्राहरूलाई एचपीभी खोप दिने छ। विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरू र छुट भएका कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट एचपीभी खोप दिने कँडेलले बताए।
विद्यालय नभएका गाउँ, टोल र पिछडिएका वर्ग/समुदायको पहुँचको लागि थप खोप केन्द्रबाट एचपीभी खोप अभियान सञ्चालन हुने महिनामा उक्त खोप दिने व्यवस्था गरिने पनि उनको भनाई छ।