© 2026
रुकुम पश्चिम,१७ माघ ।
आगामी माघ २२ गतेदेखि रुकुम पश्चिममा एचपिभी खोप लगाउन सुरु गरिने भएको छ। महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप अभियान अन्तर्गत रुकुम पश्चिमका ९ हजार बढी छात्रालाई उक्त खोप लगाइने भएको हो।
स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका अनुसार यही माघ २२ गतेदेखि सुरु हुने एच.पि.भी. खोप अभियान अन्तर्गत जिल्लाका सबै विद्यालयमा गएर अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई एच.पि.भी. खोप लगाइने बताइएको छ। विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूले परिचय खुल्ने कागजातसहित नजिकको विद्यालयमा गएर खोप लगाउन सक्नेछन्, र खोप केन्द्रमा खोप लगाउन छुटेका किशोरीहरूले नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन सक्नेछन्।
सो अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्मका ९ हजार ९६० छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका २३३ किशोरीलाई खोप लगाइने छ। रुकुम पश्चिमका ६ वटै पालिकाका २०७ वटा विद्यालयमा खोप केन्द्र सञ्चालन गरिने छ र जिल्लाभर २१२ जना स्वास्थ्यकर्मी, ४४४ जना स्वयंसेवक परिचालन हुने भएका छन्।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप देशभर एकैसाथ अभियानको रूपमा २०८१ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन गर्न लागेको छ। सूचिकृत स्वास्थ्य संस्थाहरूबाट कक्षा ६ देखि कक्षा १० सम्मका विद्यालयलाई खोप केन्द्रको रूपमा स्थापना गरी निशुल्करूपमा राष्ट्रिय खोप अभियान सञ्चालन सुरु गरिएको हो। खोप निशुल्क प्राप्त हुने जनाइएको छ।