© 2026
बुटवल ।
बुटवल बहुमुखी क्याम्पसमा ‘बिजनेस ह्याकाथन २०२५’ बिहीबारदेखि औपचारिक रूपमा सुरु भएको छ । बीबीए विद्यार्थी क्लबद्वारा संचालित कार्यशाला ९ दिन सम्म चल्ने छ ।
कार्यशालामा तेजस, संकल्प, सिद्धि, सगरमाथा, अध्या, समृद्धि, साम्य, जागरूकता, ओजस, मोक्ष, र धैर्य गरी नौवटा क्याम्पसका ११ वटा विद्यार्थीको समूह सहभागी भएका छन्।
कार्यक्रममा प्रशिक्षक मुक्तिनाथ गैह्रेले विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बहस गर्न आवश्यक रहेको उल्लेख गरे । उनले भने, “अब विद्यार्थीहरूले रणनीतिक रूपमा अघि बढ्नुपर्छ । बहस राजनीतिज्ञहरूको भाषण जस्तो होइन, शिक्षित व्यक्तिहरूले गर्ने तर्कसंगत हुनुपर्छ ।”
त्यस्तै अर्का प्रशिक्षक ब्लुकोड एजुकेशनका प्रबन्धक शैलेन्द्र ज्ञवालीले विद्यार्थीहरूलाई आत्मविश्वास र निरन्तरताको महत्वबारे प्रेरित गर्दै भने, “आफूमा विश्वास गर्नुपर्छ, आफ्नो कामलाई निरन्तरता दिनुपर्छ । असफलता नै सफलताको मुख्य सुत्र बन्न सक्छ ।”
९ दिन सम्म चल्ने कार्यक्रममा क्लवका अध्यक्ष सन्देश पाण्डेले कार्यक्रमको संरचना र कार्यतालिका स्पष्ट पार्दै माघ १८ गते बहस प्रतियोगिता, माघ १९ र २० गते अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने बताए । अध्यक्ष पाण्डेले पछिल्लो समय विदेश पलायन हुने युवाहरुको चाप अत्यधिक बढेका कारण देशको व्यवसाय र अर्थतन्त्रमा परेको प्रभावलाई ध्यानमा राख्दै, उद्यमशीलताको सम्भावनालाई अन्वेषण गर्ने र उद्यमी मानसिकता विकास गराउने लक्ष्य राखिएको बताए । ९ दिनसम्म सञ्चालन हुने यस ह्याकाथनले विद्यार्थीहरूलाई व्यावसायिक समस्या समाधान गर्न नयाँ सोच र दृष्टिकोण प्रदान गर्ने अध्यक्ष पाण्डेले दाबी गरे ।