© 2026
बुटवल, १७ माघ ।
महाकवि देवकोटा क्याम्पसको आयोजनामा सुनवलमा भएको बिजनेस प्लान कम्पिटिसनमा लुम्बिनी वाणिज्य क्याम्पस प्रथम भएकोे छ ।नवलपरासी, रूपन्देही र कपिलवस्तु जिल्लाका १३ वटा क्याम्पसहरूले सहभागिता जनाएको उक्त कम्पिटिसनमा सहभागिहरूले विभिन्न नयाँ र फरक किसिमका व्यवसायिक परियोजना तयार पार्नुका साथै सोको प्रस्तुतिकरण समेत गरेका थिए ।
प्रथम भएको लुम्बिनी वाणिज्य क्याम्पसले काम दाम शीर्षकमा अनौपचारिक क्षेत्रमा काम गरिरहेका कामदारहरूलाई औपचारिक रूपमा रोजगारी सृजना गर्ने र घरायसी काममा अति आवश्यक कामदारको सहज उपलब्ध गराउने उद्देश्य सहितको व्यवसायिक योजना प्रस्तुत गरेका थिए । काउन्सिलिङ, प्लेसमेन्ट एण्ड इन्टरप्रेनरसिप डेभलपमेन्ट सेल संयोजक मुकुन्द ज्ञवालीले संयोजन गरेका थिए ।
लुम्बिनी वाणिज्य क्याम्पसको समुहमा विद्यार्थीहरू आशिष अर्याल, कल्पना प्रसाईं र मनिशा पाण्डेले सहभागिता जनाएका थिए । यस्तै कम्पिटिसनमा बुटवल बहुमुखी क्याम्पस द्वितीय तथा स्काई इन्टरनेशनल कलेज बुटवल तृतीय भएको छ । प्रथम, द्वितीय र तृतीय हुने क्याम्पसले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद, प्रमाण पत्र र शिल्ड प्राप्त गरेको छ ।