Butwal Today

सामूहिक सहकारीद्वारा निःशुल्क स्वास्थ्य शिविर

१६ माघ २०८१, बुधबार
अ+
अ-

तिलोत्तमा, १६ माघ ।

सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लि. को ३२ औं स्थापना दिवसको अवसरमा क्रिमशन अस्पताल मणिग्रामको प्राविधिक सहयोगमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सामूहिक विकास साकोसको आयोजनामा सम्पन्न कार्यक्रममा क्रिमशन अस्पतालबाट महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्वन्धी चेकजाँच तथा परामर्श सेवा तथा ई.सि.जि. एवं सुगर चेकजाँच सम्वन्धी निःशुल्क सेवा प्रवाह गरेको थियो ।

कार्यक्रमको उदघाटन सामूहिक विकास साकोसका अध्यक्ष सुरेन्द्र कुमार वर्मा एवं संस्थाका संस्थापक अध्यक्ष माधव प्रसाद पाठकले गरेका थिए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष चूडामणि खरेल लगायतको उपस्थिति रहेको थियो । यसैगरी क्रिमशन अस्पतालबाट स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रुक्साना हकको नेतृत्वमा वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. कृष्णचन्द्र गोदार, मेडिकल अधिकृत डा. रक्षा पाण्डे सहित १० जनाको नेतृत्वमा स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।

कार्यक्रममा वोल्दै संस्थाका संस्थापक अध्यक्ष माधवप्रसाद पाठकले वर्तमान अवस्थामा केही सहकारी संस्थाहरुमा समस्या देखा परेको तर समुदायमा आधारित संस्थाहरु वलिया मात्र होइनन् सवै कुरामा सक्षम छन् वलिया छन् भन्ने कुरा यो संस्थाले प्रमाणित गरेको बताए । उनले सामुदायिक उत्तरदायित्व अन्तर्गत संस्थाले गरेका काम कारवाही सन्दर्भमा प्रशंसा गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुरेन्द्र कुमार वर्माले संस्थाले स्थापना दिवसको अवसर पारेर विभिन्न सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको जानकारी गराउँदै सामुदायिक उत्तरदायित्व अन्तर्गतका कार्यहरुको दायरा वढाउदै लैजाने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका सचिव मिन प्रसाद पोख्रेलले संस्थाका गतिविधिबारे प्रकाश पारेका थिए । स्वास्थ्य शिविर कार्यक्रममा जम्मा २०० जना सदस्यहरुले स्वास्थ्य सम्वन्धी विभिन्न सेवा लिएका थिए ।

रुपन्देही जिल्लामै ठूलो र उत्कृष्ट सहकारीको रुपमा परिचित २०५० सालमा स्थापित यो सामूहिक विकास साकोसको हाल १२ हजार ३५ जना शेयर सदस्य र वासलात ३ अर्व ५८ करोड रहेको छ ।