© २०२३
सल्यान,१६ माघ ।
७८० जना खेलाडीहरुको प्रतिस्पर्धा हुनेगरी सल्यानको त्रिवेणि गाउँपालिकामा छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । रिखेबजार स्थित गाउँपालिकाको खेलमैदानमा मंगलबार प्रतियोगिता उद्घाटन भएको हो । प्रतियोगिताले गाउँपालिकाको खेलकुद क्षेत्रमा नयाँ ऊर्जा र उत्साह ल्याउने विश्वास व्यक्त गर्दै गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले खेलकुदलाई शिक्षा, अनुशासन र नेतृत्व विकासको माध्यमका रूपमा पनि हेरिरहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले खेल स्वच्छ र अनुशासित बिधा भएको र यसले व्यक्तिलाइ कुनैपनि बिषयमा प्रतिबद्ध गराउने बताए । खेलकुद क्षेत्रमा संघ तथा प्रदेश सरकारले उचित लगानी गर्न नसकेको भनेर आउने गुनासो स्वभाविक रहेको भन्दै खेल प्रतिभाको विकासका लागि प्राथमिकतासाथ काम गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा बिशिस्ट अतिथीहरु जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, कपुरकोट गाउँपालिकाका अध्यक्ष दूर्गा बहादुर पुन, छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी लगायतले मन्तव्य प्रस्तुत गर्दै खेलकुदको महत्वको चर्चा गरेका थिए ।अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २८ वटा सामुदायिक र ५ वटा संस्थागत गरेर ३३ वटा विद्यालयको सहभागिता रहेको छ । कक्षा १–५ का ४८ जना खेलाडीले ८ स्वर्णका लागि, कक्षा ६–८ का १४४ खेलाडीले १८ स्वर्ण र कक्षा ९–१२ का ५१६ खेलाडीले ३० स्वर्णका लागि प्रतिस्पर्धा गर्ने गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख गणेश आचार्यले जानकारी दिए । यस्तै खुला भलिवल प्रतियोगितामा ६ वडाका ७२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने उनको भनाइ छ । कबड्डी, एथलेटिक्स, विद्यालयस्तरीय भलिबल र खुला भलिबल गरेर ४ वटा विधालाई प्रतियोगितामा समेटिएको गाउँपालिकाले जनाएको छ ।