© २०२३
बर्दिया, १६ माघ ।
संघीय सरकारका संस्कृति, पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले धर्म, संस्कृति, परम्परा प्रवद्र्धनका साथै बढैयाताललाई देशभरि चिनाउनका लागि बर्दियाको बढैयातालमा आयोजित बढैयाताल माघ महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।
बढैयातालमा सोमबारदेखि सुरु भएको महोत्सवको उद्घाटन गर्दै मन्त्री चौधरीले बढैयाताल यस ठाउँको पर्यटकीय क्षेत्र भएकोले महोत्सवले आन्तरिक पर्यटक भित्र्याउन थप टेवा पुग्ने बताए । साथै यहाँको धार्मिक तथा सांस्कृतिक कलासंगै मनमोहक प्राकृतिक सभ्यतालाई स्थानीय तथा राष्ट्रिय स्तरमा चिनाउन महोत्सवले भूमिका खेल्ने उनको विश्वास छ । महोत्सवले आन्तरिक व्यापार तथा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने आफूले अपेक्षा लिएको उनले बताए ।
समृद्ध बढैयातालको प्रमुख आधार, पर्यटन, कृषि, प्रविधि, ब्यापार र पूर्वाधार भन्ने मूल नाराका साथ सुरु बढैयाताल थारु माघ महोत्सव मार्फत थारु धर्म संस्कृति र परम्परा प्रवद्र्धनका साथ साँघुरिदै गएको बढैयाताल संरक्षक अभियानको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा लिएको लुम्बिनी प्रदेश सभाका सदस्य भुवनेश्वर चौधरीले बताए ।
महोत्सवको उद्धघाटनका क्रममा परम्परागत थारु कला संस्कृति झल्कने डम्फू नाच, मयुर नाच, झाँकीहरु प्रदर्शन गरिएको थियो । कृषि तथा पर्यटन संगै प्रविधिजन्य उत्पादनका साथै स्थानीय स्तरमा उत्पादित वस्तुका साथै कृषि प्रदर्शनी, थारुगाउँ, थारु परिकारका साथै थारु समुदायले पुजा गर्ने देउ देवताका मुर्ति लगायत ४० भन्दा बढी स्टल आकर्षणका रूपमा रहने थारु कल्याणकारी सभा बढैयातालका अध्यक्ष शंकरप्रसाद थारुले वताए ।
महोत्सवमा स्थानीय एवम् राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति हरेक दिन रहने जानकारी गराइएको थियोे । बढैयाताल गाउँपालिका वडा नं. ५ बढैयातालको नजिक सचालित महोत्सव माघ २५ गते सम्म संचालन हुने छ ।