© २०२३
बुटवल, १६ माघ ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुककै अभिभावक भैसक्नुभएका पुर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु उपयुक्त नहुने बताएका छन् ।
प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले राष्ट्रकै अभिभावकको जिम्मेवारी पूरा गरिसकेका व्यक्ति सक्रिय राजनीतिमा आउँदा राम्रो सन्देश नजाने बताए ।
अहिले पुर्व राष्ट्रपति विद्या भण्डारीलाई जाडेर सक्रिय राजनीतिमा फर्किन चाहेको चर्चा कतिपय क्षेत्रबाट चलाइएको भन्दै ज्ञवालीले भने, “सम्माननीय पुर्व राष्ट्रपतिको पनि चाहना विपरितका चर्चा चलाइएको छ, यसमा सत्यता छेन ।” यद्यपि उनले पुर्व राष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा आउने चाहनाका बारेमा पार्टीमा भने हालसम्म छलफल नभएको बताए ।
“पार्टीमा छलफल भयो भने एक खालको धारणा बन्ला, तर सक्रिय राजनीतिमा आउनु त्यति उपयुक्त हुँदैन”–उनले भने ।
मुलुकमा दुई ठूला दलको सरकार बनेपछि सुशासन कायम हुँदै गएको, अर्थतन्त्र लयमा फर्किएको र जनतामा सकारात्मक भावना बढ्दै गएको भन्दै ज्ञवालीले तर भ्रमको खेती गर्नेहरुबाट नकारात्मक भाष्य सिर्जना गर्ने र मुलुकलाई अप्ठेरो दिशातर्फ धकेल्ने कोशिस भैरहेको बताए ।
उनले चीनसँगको बीआरआई सम्झौता मुलुकको विकासका लागि महत्वपूर्ण उपलव्धि भएको र यसखालका सम्झौता मुलुकको हितका लागि अन्य मुलुकबाट पनि प्रस्ताव आए अगाडि बढाउन सकिने बताए ।
“विश्वकै दोस्रो र पाँचौ अर्थतन्त्र भएका ठूला छिमेकी देशको आर्थिक विकासबाट मुलुकले लाभ उठाउने गरी अगाडि बढ्नुपर्छ, सरकार त्यस दिशातर्फ अग्रसर भैरहेको छ”–ज्ञवालीले भने ।
पुर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले अमेरिकी ट्रम्प प्रशासनले लिएको अनुदान सम्बन्धी नीतिबाट नेपालको स्वास्थ्य लगायतका केही क्षेत्र प्रभावित हुन सक्ने पनि बताए ।
उनले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको र भ्रमपूर्ण विषयहरुमार्फत देश र समाजलाई नै विभाजित गर्ने प्रयत्न भैरहेको भन्दै भ्रमपूर्ण सूचनाबाट बच्न, तथ्य र सत्य विचार पस्किन र लोकतन्त्रको संरक्षण गर्नका लागि सरकारले सामाजिक सुरक्षा विधेयक ल्याउन लागेको जानकारी पनि दिए ।