© २०२३
गाजा, १६ माघ ।
इजरायल र हमास बीचको १५ महिनापछि भएको द्वन्द्वको परिणाम स्वरुप, गाजामा ३ लाखभन्दा बढी प्यालेस्टिनी नागरिक आफ्नो घर फर्किएका छन्। जनवरी १९ मा युद्धविराम भएपछि, २७ जनवरी सोमबार इजरायलले प्यालेस्टिनी नागरिकलाई उत्तरी गाजा फर्कन अनुमति दिएको थियो।
गाजा युद्ध सुरु भएदेखि, १० लाखभन्दा बढी मानिस दक्षिण गाजा क्षेत्रमा भागेका थिए। यस १५ महिने संघर्षमा इजरायली हमलामा ४७ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने १ लाख १० हजारभन्दा बढी घाइते भएका छन्।
इजरायल र हमास बीचको युद्धविराम सम्झौताअनुसार, इजरायलले २५ जनवरीदेखि प्यालेस्टिनी नागरिकलाई उत्तरी गाजा फर्कन अनुमति दिने निर्णय गरेको थियो, तर विवादका कारण सम्झौता कार्यान्वयनमा दुई दिनको ढिलाइ भएको थियो। सोमबार बिहान, नेत्जेरिम करिडोर खोलिएको २ घण्टाभित्र २ लाख विस्थापित प्यालेस्टाइनीहरू पैदल गाजा सीमामा प्रवेश गर्न सफल भएका थिए, र त्यसपछि सवारी साधनको लागि पनि नाका खुला गरिएको थियो।
हमासले गाजा फर्किएका विस्थापित प्यालेस्टिनीहरूलाई आफ्नो विजयको प्रतीकको रूपमा वर्णन गरेको छ, र यसलाई इजरायलको पराजयको संकेत मानिएको छ। अहिले पनि गाजामा विस्थापितहरू फर्कने क्रम जारी छ।