© 2026
बुटवल, १५ माघ ।
सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान अन्तर्गत लुम्बिनी दुग्ध वितरण आयोजनामा बुटवलले सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार बुटवलमा आफ्नो बिक्री काउन्टर विस्तार गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ९ तिनकुने कालिका पथमा विक्री काउन्टरको एक औपचारिक कार्यक्रम आयोजना गरी शुभारम्भ गरिएको हो ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठले काउन्टरको शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै वडा अध्यक्ष श्रेष्ठले किसानको उत्पादन बिक्री वितरणको लागि बिक्री काउन्टर स्थापनाले सहज हुने बताएका थिए । उनले किसानको उत्पादन बजारीकरणको लागि यी र यस्तै बिक्री काउन्टर देशभर बिस्तार हुनुुपर्ने र स्थानीय निकायले यसको लागि के कस्तो सहयोग गर्नुपर्ने हो यसमा हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा बोल्दै दुग्ध विकास संस्थान लुम्बिनी वितरण आयोजना प्रमुख कृष्ण प्रसाद अर्यालले सरकारी स्वामित्वमा रहेको संस्थानले सार्वजनिक नीजि साझेदारी अवधारणा अनुसार बिक्री काउन्टर शुभारम्भ गरिएको जानकारी दिए । उनले काउन्टरबाट उपभोक्ताले शुलभ दर रेटमा डिडिसीका उत्पादनहरू खरिद गर्न पाउने छन् ।
कार्यक्रमको सञ्चालन गर्दै डिडिसी लुम्बिनी वितरण आयोजना बजार व्यवस्थापन प्रमुख ऐयुव खानले बिक्री काउन्टर शुभारम्भको अवसरमा केही दिन मिलनचौक काउन्टरबाट डिलर दर रेटमा नै उपभोक्ताले डिडिसीका उत्पादन खरिद गर्न पाउने बताए । उनले डिडिसीका उत्पादन स्वच्छ, सफा, पूर्ण स्वस्थकर हुने भएको कारण उपभोक्ताले पूर्णरूपमा ढुक्क भएर उपभोग गर्नको लागि समेत आग्रह गरे ।