© २०२३
लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूले धार्मिक, प्राकृतिक र साहसिक पर्यटनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन् । जखेरा ताल, कुलपानी हरित पार्क, रिहार बगार, जंगलकुटी बाबाधाम र देविकोटजस्ता स्थलहरू आन्तरिक र बाह्य पर्यटकहरूका लागि गन्तव्यको रूपमा विकास भएका छन् ।
जखेरा तालः डुंगा शयर
दाङ लमही नगरपालिका–३ स्थित जखेरा ताल लुम्बिनी प्रदेशकै प्राकृतिक ताल मध्ये पर्दछ । जसले करिब नौ दशकअघि चुरे पहाडको काखमा प्राकृतिक रूपमा आफ्नो अस्तित्व पाएको हो । प्रारम्भमा स्थानीय समुदायले गाईभैंसीलाई पानी खुवाउन र खेतीयोग्य जमिनलाई सिंचाइ गर्न तालको संरक्षण थालनी भयो । उक्त ताल पछि बिस्तारै आन्तरिक तथा बाह्य पर्यटकको मुख्य गन्तव्य बनेको छ ।लुम्बिनी प्रदेशको राजधानी भालुबाङबाट करिब २० किलोमिटर पश्चिममा पर्ने यो ताल दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ३ मा अवस्थित छ । करिब सात विगाह क्षेत्रफलमा फैलिएको तालमा दुईवटा मन्दिर रहेका छन् । मोटर जडित डुंगामा चढेर मन्दिर दर्शन तथा तालको सयर गर्न सकिन्छ ।ताल वरपरका संरचनाहरू, जस्तै ग्रीन पार्क, पिकनिक स्टलहरू र भित्री सडक निर्माण, तालको आकर्षणमा थप योगदान पु¥याएका छन् । सरकारी र गैरसरकारी निकायहरूको करिब १ करोड सहयोगले सामान्य पानी पोखरीलाई पर्यटन गन्तव्यका रूपमा विकास गरिएको हो । तालमा डुंगा सयर र पिकनिकका लागि छुट्टै शुल्क निर्धारण गरिएको छ । पर्यटकहरूको संख्या बढेसँगै स्थानीयहरू आयस्रोतमा वृद्धि भएको बताउने गरेका छन् ।
कुलपानी हरित पार्कःप्रकृति र संस्कृतिको संगम
दाङको गढवा गाउँपालिका–१ स्थित कुलपानी हरित पार्क पछिल्ला दिनहरूमा आन्तरिक तथा बाह्र पर्यटकका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ । गर्मीयामका कारण जनजीवन प्रभावित भइरहेका बेला यहाँ वनभोज र घुमघामका लागि आगन्तुकहरूको भीड बढ्ने गर्दछ ।कुलपानी हरित पार्कमा बनाइएका बाघ, घोडा, गैँडा, जरायो, गरुड, र मयुरका प्रतिमाहरू पर्यटकको मुख्य आकर्षण बनेका छन् । यहाँ काठको भ्युटावर, काठको पुल र देउखुरी क्षेत्रमा परम्परागत रूपमा प्रयोग गरिएका सामग्रीहरू जस्तै काठको लडिया, डुङ्गा, कोल र ढिकी संरक्षण गरेर प्रदर्शनीमा राखिएका छन् ।
घोराही–६ का श्रीधर अधिकारी र घोराही–१५ का शरद आचार्यजस्ता स्थानीय पर्यटकहरूले पार्कलाई खर्च कम लाग्ने रमणीय गन्तव्यका रूपमा प्रशंसा गरेका छन् । भ्युटावरबाट वरिपरि नियाल्दा मनोरम दृश्यले आगन्तुकहरूलाई मोहित बनाएको छ ।
रिहारः थारु समुदाय आस्था
धार्मिक र सीमसार क्षेत्रका रूपमा परिचित यो पार्क १२ हेक्टरमा फैलिएको छ । यहाँ जलविहारका लागि पोखरी निर्माण गरिएको छ र डुङ्गा सयरको सुविधा उपलब्ध छ । बाल उद्यान, वनभोज केन्द्र र पोखरीलाई व्यवस्थित बनाउन तारबार लगाउने योजना रहेको छ ।कुलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवराज शर्माका अनुसार, यो क्षेत्रलाई आन्तरिक तथा बाह्र पर्यटकका लागि प्रमुख गन्तव्य बनेको छ । त्यसैगरि प्रदेश राजधानी भित्र रहेको पुरानो इतिहास तथा धार्मिक महत्व रहेको रिहार धाम, जसलाई बगार बाबा धार्मिक विकास क्षेत्र पनि भनिन्छ, दाङ जिल्लाको लमही नगरपालिका–९, रिहारमा अवस्थित एक प्रसिद्ध धार्मिक स्थल हो । यो स्थान नेपाल सरकारले छनोट गरेको सय पर्यटकीय स्थल मध्य एक हो । चुरेको फेदीमा १ हजार बिघाहमा फैलिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो क्षेत्र लमही बजारदेखि करिब २० किलोमिटर पश्चिममा पर्छ ।रिहारमा बगार बाबा, भैने पर्शुराम, मामीशंवरी, काली, गणेश, कोटीहोम, शिव, बराहा, झाँक्री लगायत विभिन्न देवी–देवताका मन्दिरहरू रहेका छन् । त्यसैगरी, दाङ जिल्लामा एकमात्र तातोपानी कुण्ड (तप्त कुण्ड) पनि यही धार्मिक क्षेत्रभित्र अवस्थित छ ।
हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा यहाँ ठूलो मेला लाग्छ । यस मेलामा ढुंगा उचाल्ने परम्परा विशेष आकर्षणको केन्द्र हो, जसमा सहभागीहरूले ठूलो ढुंगा बोकेर मन्दिरको परिक्रमा गर्छन् । त्यसैगरी, तप्त कुण्डमा स्नान गर्ने र खिचडी पकाउने परम्परा पनि प्रचलित छ । रिहारको कुण्डमा पूजा गरी बगारबाबा मन्दिरमा पूजा गर्नाले मनोकांक्षा पूरा हुने, निःसन्तानले सन्तान पाउने र रोगब्याधी नलाग्ने धार्मिक विश्वास छ । रिहार अवधीभाषी यादव समुदाय र थारु समुदायको पवित्र धार्मिक स्थलको रूपमा परिचित छ ।
देविकोटः चुरेको शीर
राप्ती गाउँपालिका वडा नम्बर ९ देविकोटमा रहेको भद्राक्षी देवी धार्मिक तथा पर्यटकय स्थल हो । लुम्बिनी प्रदेशको राजधानीको सिरमा रहेको चुरेको टुप्पोमा देबिको मन्दिर रहेको छ । महादेवले सतीदेविको लास बोकेर सवार गर्ने क्रममा दाहिने घुँडा पतन भएको मान्यता रहँदै आएको छ । धार्मिक मात्रै नभै सो क्षेत्र बाट सिंगो देउखुरीको दृश्य देख्न सकिन्छ । पछिल्लो समयमा प्याराग्लाइडिङ समेत सुरु भएको छ ।सौन्दर्यीकरण पछि पर्यटकको रोजाइमा पर्न थालेको छ । राप्ती गाउँपालिकाको पहल र लुम्बिनी प्रदेश सरकारको बजेटमा उक्त मन्दिरको संरक्षण तथा सौन्दर्यीकरण गर्न लागिएको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट बताउँछन् । राप्ती रिडि ग्रुप प्रा.लि.,बाबु एड्भेन्चर्स ग्रुपका प्रमुख प्रशिक्षक साहसिक पाइलट सानुबाबु सुनुवार लगायतको टोलीले देबीकोटवाट साहसिक प्याराग्लाइडिङको एक बर्ष अगाडि सुरु गरेका हुन्

जैविक विविधता पार्क लमहीः
देउखुरीको लमहीस्थित अजम्मरी सामुदायिक वन क्षेत्रभित्र पर्ने जैविक विविधता पार्कमा पर्यटकहरूको आवागमन बढ्दै गएको छ । पार्क पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ पर्छ र ऐतिहासिक रूपमा लमाह डरवा नामले चिनिने यो क्षेत्र अहिले ‘लमही’ को पहिचानको केन्द्र बनेको छ । थारु भाषामा खरायोलाई ‘लमाह’ भन्ने गरिन्छ, जसले लमहीको नामाकरणलाई जोड दिएको छ । यस ऐतिहासिक महत्वलाई जीवन्त राख्न पार्कभित्र खरायोको स्तम्भ निर्माण गर्ने योजना रहेको छ ।
जैविक विविधता पार्कमा मिनिपार्क र ग्रिनपार्कले आकर्षण थपेका छन् । पर्यटकहरू यहाँ घुमफिर गर्न, फोटो खिच्न र भिडियो बनाउन नियमित रूपमा आउँछन् । अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन रिजालका अनुसार पार्कको निर्माण पर्यटन र आयआर्जनसँग जोड्ने लक्ष्यसहित गरिएको हो । वन क्षेत्रलाई घास र दाउरा मात्रै नभई, रोजगारी सिर्जना र आर्थिक क्रियाकलापको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना उनले व्यक्त गरे ।
जंगलकुटी बाबा धामः आध्यामिक पर्यटन
सिद्ध बाघनाथ बाबा जंगलकुटी दाङ देउखुरी जिल्लाको गढवा गाउँपालिकामा पर्दछ । यो ऐतिहासिक, धार्मिक र पुरातात्विक रूपले महत्वपूर्ण कुटी हो । यसको दक्षिणमा डुडुवा पर्वत, पूर्वमा चिमचिमे खोला, पश्चिममा सुपैला खोला र उत्तरमा गोवरडिहा र धैरेनी गाउँ रहेका छन् । सिद्ध बाघनाथ बांबा जंगलकुटी वि.सं. १८७८ मा सिद्ध प्राप्त बाबा भूवनेश्वरनाथले स्थापना गरेका हुन् ।बाबा भूवनेश्वरनाथ कुटीमा एक्लै बस्ने र बाघमा सवार गरी गाउँमा औषधि उपचार, खेतीपाती, घर बनाउने आदिको साइत हेर्न जाने गर्दथे । उनी बाघमा सवार गरी हिँड्ने भएकोले कुटीको नामाकरण सिद्ध बाघनाथ बाबा जंगलकुटी रहन गएको हो । बाबा भुवनेश्वरनाथ पाल्पाली राजा महादत्त सेनले बुटवल चारापाला मठमा राखेका भुवनेश्वर हुन कि सिपाही बिद्रोही नाना साहेब हुन भन्ने खोजिको विषय हो ।जंगलकुटी पुग्नको लागि दाङ–बुटवल सडक खण्डको कालाकाटेबाट १६ कि.मी.पश्चिम गढवा–कालाकाटे सडकमा पर्ने गोवरडिया गाउँदेखि दक्षिण चुरे पहाडको काखमा पुग्नु पर्दछ । अर्कोतर्फ लमही गढवा हुँदै गोबरडिहा गाउँ भएर पनि जान सकिन्छ ।