© २०२३
भैरहवा,१५ माघ ।
रोट्र्याक्ट क्लब अफ भैरवाका संस्थापक अध्यक्ष प्रकाश गैरे शर्मा रोट्र्याक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल तथा भुटानको डिआरआर पदमा निर्वाचित भएका छन्।शर्मा विगत १२ वर्षदेखि रोट्र्याक्ट क्षेत्रमा आबद्ध थिए।१८ वर्षदेखि ३५ वर्षको उमेर समूहमा रहेको यस संस्थाका देशभर हाल १७० भन्दा बढी शाखाहरू रहेका छन् भने करिब ७ हजार सदस्य रहेका छन्।
हालै सम्पन्न १७औं राष्ट्रिय सम्मेलनमार्फत नयाँ नेतृत्व चयन भएको हो। बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय कन्भेन्सन हलमा २ दिनसम्म चलेको उक्त सम्मेलन नेपाली कांग्रेसका केन्द्रीय नेता र संविधान सभा सदस्य चन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो। उक्त सम्मेलन युवा, राजनीति र अबको देश शीर्षकको प्यानल सत्रमा सांसदहरू ज्ञानेन्द्र शाही, ठाकुर गैरे र सञ्जय कुमार गौतमले युवाहरूका लागि राजनीतिक नेतृत्वका चुनौती र अवसरहरूबारे गतिशील छलफल गरेका थिए। वक्ताहरूले शासन, नीतिनिर्माण र समाज परिवर्तनमा युवाको सक्रिय सहभागिताको महत्त्वमा जोड दिए। उनीहरूले युवा नेताहरूलाई पारदर्शी र समावेशी राजनीतिक प्रणाली निर्माण गर्न आह्वान गरे।
माइन्ड म्यानेजमेन्ट प्यानल सत्रमा, आईएस्कन नेपालका सचिव रूपेश्वर गौर दास, आध्यात्मिक प्रशिक्षक चैतन्य कृष्ण र मानसिक स्वास्थ्य उत्प्रेरक श्रेया गिरि सहभागी हुनुहुन्थ्यो। प्यानलले भावनात्मक दृढता र मस्तिष्कको शान्तिमाथि ध्यान केन्द्रित गरेको थियो। विशेषज्ञहरूले तनाव व्यवस्थापन, आत्म शान्ति र मानसिक सन्तुलन कायम राख्नका लागि विभिन्न विधिहरू प्रस्तुत गरेका थिए। साथै प्रमुख वक्ताको रूपमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बैंकिङ्ग क्षेत्रका सिए मनोज ज्ञवाली लगायतले युवा नेतृत्व विकास र युवा सम्भाव्यताबारे धारणा व्यक्त गरेका थिए।
उक्त सम्मेलनमा देशभरका १७० बढी क्लबका करिब १२०० भन्दा बढी रोट्र्याक्टर्स युवाहरूको सहभागिता रहेको थियो। शर्मा युनाइटेड अजोड इन्स्योरेन्सका लुम्बिनी प्रदेशका नायब प्रदेश प्रमुख हुन् भने लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघ बुटवलका सल्लाहकार साथै निप्स बुद्धभूमि च्याप्टरका महासचिव हुन्। उनी मिडियाकर्मी समेत छन्। हाल रोट्र्याक्ट नेपालले युवा नेतृत्व, शिक्षा क्षेत्र र दैवी प्रकोपका समयमा सहयोग गर्दै आएको छ।