© २०२३
बुटवल, १५ माघ ।
मध्यरातमा मोटरसाईकलको ठूलो आवाजले बुटवल देविनगरकी ममता श्रेष्ठ सुत्न सक्दिनन् । निद्रा लाग्ने समयमा देविनगर आसपासमा मोटरसाईकल पड्काउनेहरूको प्रतिस्प्रर्धा चल्छ । सडकमा एकोहोरो आवाजको कारण अनिँदो नै हुने गरेको उनले बुटवल टुडेलाई सुनाईन । ‘घरका साना बच्चाहरू आवाजले तर्सिन्छन ।’–उनले भनिन् । टोलमा धेरैपटक कुरा राखेपछि रातको समयमा कोही बाहिर निस्कन नचाहेको उनले सुनाईन । पछिल्लो समय केही दिन यो रोकिएपनि फेरि बुलेट पड्काउन शुरु भएको उनको भनाइ छ ।शिक्षण पेशा अपनाउने बुटवल देविनगरकै नरेन्द्र शर्मा पनि रातीको समयमा मोटरसाईकल पड्काउने युवाहरूको कारण आतंकित छन । दिनभर विद्यालयमा अध्यापन गराएर साँझ आराम गर्ने समयमा कठिनाई हुने गरेको उनले बताए । ‘राती ११ बजेपछि ठूलो आवाजमा मोटरसाईकल पड्काउने र स्टण्ट गर्नेहरूले दुःख दिने गरेको छ,’–उनले भने । पछिल्लो समय युवा पुस्ताहरू आफ्नो सोख पुरा गर्ने बाहानामा समाजलाई दुःख दिने गरेको उनले दुखेसो गरे । पछिल्लो समय युवापुस्ताहरूमा संस्कार र अनुशासनको कमी देखिएको उनले बताए । स्थानीयहरूबाट गुनासो आएसंगै ट्राफिक प्रहरी र स्थानीय सरकार यसको नियन्त्रण र कारवाहीलाई तिब्रता थाल्यो । स्वरूप परिवर्तित १७ बुलेट प्रहरीले नियन्त्रण लिई यातायात ब्यवस्था कार्यालयबाट जनही १० हजार रूपैयाँका दरले चालकलाई कारवाही पनि गर्यो । तर एक हप्ता रोकिएको बुलेट आतंक फेरि दोहोरिएको स्थानीयहरूको गुनासो छ । प्रहरीले यस्ता बाइकबाट पैसा उठाएर छाडेको त होइन भन्ने स्थानीयको आंशका छ ।

श्याम बहादुर खत्री
प्रहरी उपरीक्षक, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल
राती परेपछि ठूलो आवाजमा बाईक पड्काउनेहरू सक्रिय छन । केही उछृङखल युवाहरू भने प्रहरीलाई चुनौती दिने काम गरेका छन् । रातको समयमा फेरि चर्को आवाजमा मोटरसाईकल चलाउने गरेको कालिकापथ, देविनगर, चिडियाखोला क्षेत्रका बासिन्दाहरूको गुनासो छ । केही समय रोकिएको आतंक अहिले फेरि बढेको उपभोक्ता हित संरक्षण मन्च बुटवल नगरका अध्यक्ष समुन्द्र जिसी बताउँछन् ।रातीको समयमा १० बजे होटल बन्द गर्न प्रहरीहरू हिड्ने त्यसपछि भने प्रहरीको गस्ती र जाच नहँुदा रातीको समयमा अपराधिक गतिविधि हुने गरेको उनले दुखेसो गरे । ‘रातको समयमा समुह बनाएर नै ध्वनी प्रदुषण गर्ने युवाहरू भेटेको छु ।’–उनले बताए । सवारी मोडिफाई अन्त्य गर्ने तर्फ प्रहरी लाग्नुपर्ने उनले सुझाव दिए । ‘अब जहा बाईक मोडिफाई गरिन्छ त्यो ग्यारेजलाई कानुनी कारवाहीको दायरामा ल्याउन सके सुधार हुन्छ ।’–उनले भने । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल, रूपन्देही र ईलाका प्रहरी कार्यालय बुटवलले मोडिफाई गर्ने ग्यारेज लक्षित गरि जाँचलाई अगाडी बढाउनुपर्ने उनले बताए ।
साईलेन्सर पाईप फेरेर ठूलो आवाज आउने बनाउँदै समुदायमा ध्वनी प्रदूषण गर्ने, सार्वजनिक सडकमा अत्याधिक तिब्र गतिमा चलाउने, सामाजिक संजालमा उछ्ङखल गतिविधिहरू गरि स्टण्ट गरेको भिडियो अपलोड गर्नेलाई कारवाही गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल, रूपन्देहीका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले बताए । ‘हामी विशेष अभियान अघि बढाएका छौँ ,’–उनले भने । सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को दफा ३९ (१) कसुर बमोजिम मोटरसाईकलहरूलाई यातायात ब्यवस्था कार्यालयबाट १० हजार रूपैयाँका दरले जरिवाना गरि पुरानो स्वरूपमा परिवर्तन गराई सवारी धनीलाई जिम्मा दिने र साईलेन्सर पाईप, हेण्डल, स्टिकर, लाईट, सिट, लुकिङ ग्लास जस्ता स्वरूप परिवर्तन गरिएका सामग्री जफत गर्ने प्रावधान अनुरूप कारवाही भएको उनले बताए । विशेषगरि रोयल ईन्फिल्ड कम्पनीका बुलेट र क्रसफायर, डट मोटरसाईकलहरूमा कम्पनीबाट राखेको साईलेन्सर पाईप फेर्ने गरेको भेटिएको उनले बताए ।
आर्थिक वर्ष २०८०/२०८१ मा यातायातबाट ६५ र आर्थिक वर्ष २०८१/२०८२ मा ६१ गरि कुल १२६ वटा मोटरसाईकल कारवाही गरिएको कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानले बताए । अहिले पनि नियमितजसो जाच गर्ने र कारवाही हुने क्रम रहेको उनी बताउँछन । ‘नियमित कारवाही गरिरहेका छौं,’–उनले भने । रातको समयमा केही युवाहरू हिँड्ने गरेको सूचना आएको उनले स्वीकारे । दुर्घटना न्यूनीकरणमा कारक बनेको मापसे जाच छड्के रूपमा नियमित ठाउँठाउँमा चलाउँदै आएको उनले बताए ।