© २०२३
बुटवल, १५ माघ ।
‘सफा सहर, हाम्रो रहर’ नारासहित बुटवलमा ट्रास रेस प्रतियोगिता हुने भएको छ । युवाहरुमा नगर सफाईको जागरणका लागि माघ १९ गते बृहत फोहोर उठाउने दौड प्रतियोगिता हुने भएको हो ।
बुटवल उपमहानगरपालिकाको सहयोग, ग्रास इन्टरनेशनलको प्रायोजनमा क्लोथ एण्ड फुड बैंक बुटवलले गर्ने प्रतियोगिताको तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन गरी आयोजक क्लोथ एण्ड फुड बैंक बुटवलका कमल जिसीले बताए । मनोरञ्जनसंगै युवा जागरणलाई जोडेर नया अभियान बुटवलमा सुरुवात गरेको उनले बताए । काठमाडौमा सरसफाई अभियान चलाउँदाको सिकाईबाट आफ्नै क्षेत्र बुटवलमा नयाँ थालनी गर्न लागेको उनले बताए ।
यस क्षेत्रका सुरक्षा निकाय, कलेज, विद्यालय लगायतमा समन्वय गरिएको कार्यक्रममा ८५० जना दर्ता भैसकेको उनले बताए । ‘करिब एक हजार जना सहभागी हुने अपेक्षा छ’–उनले भने । १६ वर्ष उमेर माथिको युवाहरु सहभागी हुन पाउने व्यवस्था रहेको उनले बताए । भविष्यमा बुटवलकै पर्वको रुपमा लैजाने गरी अघि बढाउने उनले बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार, द्वितीयले ३० हजार र तृतीयले नगद १५ हजार रुपियाँ र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । लाइम एण्ड लेमल र रिफ्रेस रेष्टुरेन्टबाट सुरु भएको रेस क्लब डेनेभोमा समापन हुनेछ । कालिका पथ, ट्राफिक चोक, भुड्की चोक, भाटभटेनी, राजमार्ग चौराहा हुँदै पुनः क्लब डेनेभोमा पुगेर समापन हुनेछ ।
कार्यक्रममा क्लोथ एण्ड फुड बैंक केन्द्रका सल्लाहकार राजिव गौतमले वातावरण जोगाउने महत्वपूर्ण अभियान भएको बताए । बुटवलबाट नै सुरु भएको यो अभियान अहिले देशभर चलेको छ । सहभागीको लागि निःशुल्क फारमको ब्यवस्था रहेको उनले बताए ।
बुटवलको ६ किलोमिटर दूरीमा फोहोर उठाउन एक घण्टाको समयावधि तोकिएको कार्यक्रम संयोजक लक्ष्मण श्रेष्ठले बताए । सहभागीहरुले सडकमा भेटिएका प्लास्टिकजन्य पदार्थ दुई जना समूहमा रहने उनले बताए । एकजना फोहोर उठाउने र अर्कोले ब्यागमा राख्ने उनले बताए ।