© २०२३
रौतहटको सेमरीमा विवाह गरेको दुई महिना नपुग्दै दुलहीलाई दाईजो कम भएको भन्दै घर परिवारका सदस्यहरूले कठोर यातना दिएको समाचार सार्वजनिक भएको धेरै भएको छैन् । सुन्दर जीवनको परिकल्पना गरेर विवाह वन्धनमा बाँधिएकी ती युवती अन्ततः डिप्रेसनमा पुगेकी छिन । त्यसैगरी जनकपुरमा समेत दुई महिना अघिमात्रै दाईजो कम भएको नाममा विवाहित दुलहीलाई चरम यातना दिएको र यातनाको घटनामा उनकै श्रीमानको समेत संलग्नता रहेको कुरा सार्वजनिक भएको छ । पछि विवाहित युवतीले आत्महत्या गर्न बाध्य भएको समेत प्रकाशमा आएको छ । यी घटना बर्षौदेखि तराईमा जारी दाईजोका नाममा कलंकका उदाहरण हुन । बिडम्वना के छ भने दाईजो विरुद्धको अभियान जति नै चलाएपनि दाईजोका नाममा हुने यातनाका घटनामा कुनैपनि कमी आएको छैन । बरु झनै बढ्दै गएको देखिएको छ । नेपाली समाजमा विवाहवारीको समयमा उपहारस्वरूप दिइने दाइजो प्रथाले विकृतिको रूप लिँदै आइरहेको छ । विशेषगरी तराईका जिल्लामा दाइजो प्रथाले अपराधको रूप समेत लिने गरेको छ । विवाहमा केटी पक्षले भने अनुसारको दाइजो नदिँदा केटा पक्षले अन्तिम समयमा आएर विवाह नै रोकेका दुःखद घटना पनि सार्वजनिक हुने गरेका छन् । यस्तो रवैया २१ आंै शताब्दीको मानवताविरुद्धको गम्भीर अपराध हो । विवाहको सबै तयारी पूरा भएपछि आफ्नो स्वार्थसिद्ध गर्नका लागि दाइजो नपाएको झोकमा विवाह रद्द गर्ने त्यो परिवारको कृत्य जतिसुकै भत्र्सना गरे पनि कम हुन्छ । अर्कोतर्फ विवाह अघि केही पनि नभन्ने तर विवाहपछि मानसिक यातना दिएर दाईजो माग गर्ने ढोंगी परिवार पहाडमा भन्दा पनि मधेशी समाजमा बर्गेल्ती छन । यसले मधेशमा अझै समाज परिवर्तन भएको रहेनछ भन्ने प्रमाणित गरेको छ । नेपाली समाजमा दाइजो प्रथा नयाँ भने होइन । यो त धेरै पहिला त्रेता युगमा भारतको अयोध्याका राजा जनकले आफ्नो ज्वाईं र सम्धीलाई स्वेच्छाले खुसीको दाइजोको नाममा सुन, चाँदी, गहना, राजपाट, महल, हात्ती, घोडा पैसा आदि प्रदान गरेको किम्बदन्ती छ । त्यतिबेलादेखि नै विवाहका समयमा केटी पक्षले केटा पक्षलाई दाइजो दिने परिपाटीको विकास हँुदै आएको हो । त्यतिबेला दाइजो स्वेच्छाले प्रदान गरिन्थ्यो । कसैलाई पनि कुनै प्रकारको करकाप थिएन । त्यसैले गर्दा कुनै प्रकारको मनोवैज्ञानिक हिंसा तथा सामाजिक अपराध हुने अवस्था नै आउँदैनथ्यो । तर, हिजो आज नेपाली समाजमा त्यही दाइजो प्रथाले चरम विकृति र अपराधको रूप लिँदै आएको छ ।
यतिसम्मकी दाइजो नपाएको झोकमा आफ्नै श्रीमतीको हत्या गरिदिने, तेजाव छर्केर कुरूप बनाइदिने लगायतका सामाजिक अपराधका घटना दिनानुदिन बढिरहेका छन् । पैसा र धनलाई सर्वेसर्वा ठान्ने गलत सोचका कारण पनि दाइजो प्रथाले थप प्रश्रय पाउँदै आएको छ । सरकारले सामाजिक विकृति र विसंगति रोक्नका लागि विभिन्न नीतिगत र संरचनागत व्यवस्था गरे पनि समाजमा दाइजो प्रथा रोकिनुको साटो झनै बढ्दै गइरहेको छ । यसले सरकारी प्रयास औपचारिकतामा मात्रै सीमित भइरहेको पुष्टि गरेको छ । त्यसैले अब संघीय, प्रादेशिक र स्थानीय सरकारले यस प्रकारका विकृतिका घटना रोक्नका लागि बनाएका नीति योजना र कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्छ । दाइजो प्रथा रोक्नका लागि सामाजिक रूपमा नै जागरणका कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । दाईजो माग गर्नेलाई समाजले बहिष्कार गर्ने वातावरण निर्माण गर्नु जरुरी छ । होइन भने नेपाली समाजमा यो प्रथा कुप्रथामात्रै होइन, हाम्रा छोरी चेली असुरक्षित बन्ने परिस्थिति सिर्जना हुनेछ । दाईजो माग्ने चलन पछिल्लोसमय घट्दै गएको भनिन्छ तर भित्रीरूपमा यसले गाडेको जरा उखेल्ने काम भने जटिल छ । अवको दिनमा दाईजोको कलंकविरुद्ध अभियान नै छेड्नु जरुरी छ ।