© २०२३
दाङ, १५ माघ।
घोराही उपमहानगरपालिकाले एकल र अशक्त महिलालाई आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले निःशुल्क कुखुराका चल्ला वितरण गरेको छ। नगर क्षेत्रमा रहेका आर्थिक रूपमा अशक्त र एकल महिलालाई व्यावसायमा जोड्दै आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले एक सय जना महिलालाई कुखुरा प्रदान गरिएको हो। घोराही उपमहानगरपालिका कृषि तथा पशुपन्छी विकास शाखाले प्रतिव्यक्ति १७ वटा कुखुराका दरले एक सय जना महिलालाई एक हजार सात सय कुखुरा वितरण गरेको हो। कुखुरा प्राप्त गर्नेमा ११ जना अशक्त र ८९ जना एकल महिला रहेको घोराही उपमहानगरपालिका पशुपन्छी शाखा प्रमुख श्रीधर अधिकारीले जानकारी दिएका छन्। शाखा प्रमुख अधिकारीका अनुसार बाँकेको खजुराबाट उन्नत जातका न्यू हेम्पसायर र अस्ट्रोलोप जातका छ हप्ताका कुखुरा खरिद गरेर निशुल्क वितरण गरिएको हो। अण्डा र मासु उत्पादनका माध्यमबाट महिलालाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले कुखुरा प्रदान गरिएको शाखा प्रमुख अधिकारीले बताए। पालिकाले सूचना जारी गरेको थियो सोही सूचनाका आधारमा लक्षित वर्गले निवेदन दिए। सोही निवेदनका आधारमा कुखुरा प्रदान गरिएको हो। कुखुराबाट अशक्त र एकल महिलालाई आयआर्जनमा जोडिन सहयोग पुग्ने उनले बताए।
चार लाख मूल्यको कुखुरा खरिद गरेर वितरण गरिएको हो। उनका अनुसार सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा कार्डलाई आधार मानेर कुखुरा प्राप्त गर्ने महिलाहरू छनोट गरिएको थियो।एकल र अशक्त महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यले घोराही नगर क्षेत्रमा रहेका महिलाहरू छनोट गरेर कुखुरा प्रदान गरिएको घोराही उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष खोपीराम चौधरीले बताएका छन्। वडाध्यक्ष चौधरीले कुखुरा वितरण सानो सहयोग देखिए पनि राम्रोसँग पाल्न सके आयआर्जनमा ठूलो सहयोग पुग्ने बताए। घोराही उपमहानगरपालिका आर्थिक विकास समिति संयोजक तथा वडा नं. ७ का वडाध्यक्ष चौधरी र कृषि तथा पशुपन्छी विकास शाखा प्रमुख अधिकारीले संयुक्त रूपमा कुखुरा वितरण गरेका थिए। कुखुरा पाएपछि एकल र अशक्त महिला दंग परेका छन्। हामीलाई स्थानीय सरकारले सहयोग स्वरूप दिइएका कुखुरा राम्रोसँग पालनपोषण गरेर आम्दानी गर्ने छौं। कुखुरा पाल्न धेरै गाह्रो पनि हुँदैन, अण्डा र मासु दुबै बिक्री गरेर आम्दानी गर्न सकिने पनि उनीहरूले बताए।