Butwal Today

सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

१४ माघ २०८१, सोमबार
अ+
अ-

काठमाडौं,१४ माघ ।

सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। उक्त बैठक भोलि (मंगलबार) बिहान ११ बजे बस्नेगरी बोलाइएको हो।

सभामुखले प्रमुख राजनीतिक दलका सचेतकसँगको छलफलपछि बैठकको आह्वान गरेका छन्। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार, मंगलबारको बैठकमा के-के निर्णय गरिने बारेमा छलफल हुनेछ। उनले भने, “हामीले भोलि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छौं।”

यसैगरी, माघ १८ गतेदेखि ३० गतेसम्मको संसद् बैठकको क्यालेन्डर पनि तयार पारिएको जानकारी बर्तौलाले दिएका छन्। संसद्मा विधेयक निर्माण र राष्ट्रिय नीतिबारे महत्त्वपूर्ण छलफल गर्नका लागि आजको बैठकमा चर्चा भएको उनले बताए।

संसदको हिउँदे अधिवेशन माघ १८ गतेबाट सुरु हुने छ, जसमा प्रधानमन्त्री लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। सोही दिन सरकारका ल्याएका अध्यादेशहरू संसदमा पेस हुने र २२ गते बस्ने बैठकमा निर्णयार्थ पेस हुने पनि बर्तौलाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?