© 2026
काठमाडौं, १३ माघ ।
आजको सेयर बजारको परिसूचक नेप्से १०.४१ अंक घटेर २६४३ अंकमा कायम भएको छ। यद्यपि, बजारको परिसूचक घट्दा पनि कारोबार रकममा वृद्धि देखिएको छ। अघिल्लो दिनको ७ अर्ब ८५ करोडको कारोबारको तुलनामा आज ९ अर्ब १२ करोडको कारोबार भएको छ।
आजको बजारमा ११६ कम्पनीको मूल्य बढ्दा १२१ कम्पनीको मूल्य घटेको छ, भने ६ कम्पनीको मूल्य स्थिर रह्यो। फाइनान्स सेक्टरमा सबैभन्दा ठूलो गिरावट ४.७४ प्रतिशत देखिएको छ, भने अन्य सेक्टरहरूको पनि केही गिरावट भएको छ।
बैंकिङ, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा, उत्पादन, व्यापार समूह लगायतका सेक्टरहरूमा गिरावट आएको छ। विकास बैंक, हाइड्रोपावर, माइक्रोफाइनान्स र अन्य सेक्टरहरूले भने सानो बढोत्तरी देखाएका छन्।
आजका केही प्रमुख बढेका कम्पनीहरूमा उपकार लघुवित्त र माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य १० प्रतिशत बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त, सिक्लेस हाइड्रोपावरका मूल्य पनि उल्लेखनीय वृद्धि देखिएका छन्।
त्यसैगरी, बोटलर्स नेपाल बालाजु, दोल्ती पावर, जानाकी फाइनान्स र धौलागिरि लघुवित्तको मूल्य १० प्रतिशत घटेको छ। नेपाल हाइड्रो डेभलपर र नेपाल फाइनान्सका मूल्य पनि घटेका छन्।
कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, सिन्धु विकास बैंक र सीएचडीसी अगाडि रहेका छन्।