© 2026
जितपुर, १३ माघ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. १ मा ११ हजार १ सय ११ को नवग्रह शान्ति अनुष्ठानसहित श्रीमद्भागवत ताण्डुलाञ्चल एवम् धनधान्याञ्चल ज्ञानयज्ञ आयोजना हुने भएको छ । श्री शनिदेव मन्दिर र ज्योतिष अनुसन्धान केन्द्र विरपुरको आयोजनामा हुने यो ज्ञानयज्ञ माघ २१ गतेदेखि सुरु भई ९ दिनसम्म सञ्चालन हुनेछ ।
आयोजकका अनुसार ज्ञानयज्ञको ७० प्रतिशत काम सकिएको छ। शनिदेव मन्दिरका परिकल्पनाकार बाबा योगीराजले नेपालमै नौ ग्रहका अलग–अलग मन्दिर भएको एकमात्र स्थान शनिदेव मन्दिर भएको दाबी गरे। नवग्रह शान्तिका लागि प्रत्येक सहभागीले ११,१११ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। हालसम्म ३५० जनाभन्दा बढीले रसिद काटिसकेको र माघ २१ पछि नयाँ रसिद काटिने छैन ।
महासंकल्पका लागि विहान र बेलुका २७ पण्डितद्वारा विधिपूर्वक जप र हवन गरिनेछ। अनुष्ठानमा १ क्विन्टल गाईको घ्यू प्रयोग हुने भएकाले भारतको गौशालाबाट शुद्ध घ्यू ल्याइने छ। नेपालमा आवश्यक परिमाणमा शुद्ध घ्यू उपलब्ध नभएकाले भारतबाट आयात गर्नुपरेको आयोजकले जनाएको छ ।
यज्ञलाई सफल बनाउन स्थानीयबासी र नेपाली सेनाले निस्वार्थ भावले श्रमदान गरिरहेका छन्। कार्यक्रम सफल पार्न वडा नं. १ का अध्यक्ष तेज बहादुर थापाले सबैलाई कथा श्रवण गर्न आह्वान गरेका छन्।उनले यज्ञमा कुनै आर्थिक अनियमितता नहुने र यदि भएको खण्डमा तुरुन्त जानकारी गराउन आग्रह गरे।
ज्ञानयज्ञ माघ २१ गते विहान ९ः४५ मा सुरु भई १०ः०५ मा झण्डा स्थापना, १०ः२४ मा सूर्य मन्दिर शिलन्यास, र १०ः४० मा महासंकल्प तथा हवन हुनेछ। प्रत्येक रात ८ देखि १० बजेसम्म भजनकृतन हुनेछ। अन्तर्राष्ट्रिय कथा वाचक आचार्य विष्णु प्रसाद ज्ञवालीले श्रीमद्भागवत प्रवचन गर्नेछन्।
पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले महायज्ञजस्तो पवित्र कार्यमा आर्थिक अनियमितता नहुने विश्वास व्यक्त गर्दै मिडियाले यसको प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
यज्ञ माघ २९ गते सम्पन्न हुनेछ। मूल आयोजक समितिका संयोजक इश्वरी प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन रविलाल घिमिरेले गरेका थिए।