Butwal Today

नेपालमा ७२ औं विश्व कुष्ठरोग दिवस, कुष्ठरोग कम हुँदै

१३ माघ २०८१, आइतबार
अ+
अ-

काठमाण्डौ ।

आज ७२ औं विश्व कुष्ठरोग दिवस नेपालमा ‘कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौँ’ भन्ने नाराका साथ मनाइँदैछ। नेपालमा कुष्ठरोगका बिरामी घट्दै गएको र सङ्ख्यामा गिरावट आएको तथ्याङ्कले कुष्ठरोगमुक्त समाजको लक्ष्य नजिक पुगिरहेको देखाउँछ।

सन् २०१९ को तुलनामा सन् २०२४ मा नयाँ कुष्ठरोगका बिरामीमा २५ प्रतिशत र बालबालिकामा कुष्ठरोगको दरमा झन्डै ५० प्रतिशतले गिरावट आएको छ। विश्व स्वास्थ्य सङ्गठनका नेपालका प्रतिनिधि डा. राजेश पाण्डवले यस वर्षको विश्व कुष्ठरोग दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका छन्।

सन् २०१० मा नेपालले कुष्ठरोगलाई राष्ट्रियस्तरमा जनस्वास्थ्य समस्याका रूपमा निवारण गर्ने घोषणा गरेको थियो। त्यसपछि, नयाँ कुष्ठरोगका बिरामीको सङ्ख्या लगातार घटिरहेको छ। हाल पाँच वर्षदेखि ७० प्रतिशतभन्दा बढी पालिकामा बालबालिकामा कुष्ठरोगको सङ्क्रमण शून्य भएको प्रतिवेदन प्राप्त भएको छ।

तर, केही जिल्लामा अझै पनि कुष्ठरोगको उच्च जोखिम रहेको छ। ७७ जिल्लामध्ये झापा, महोत्तरी, सिरहा, रौतहट, कपिलवस्तु, बाँके जस्ता १८ वटा जिल्लामा अझै जोखिम कायम रहेको इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले बताएका छन्।

कुष्ठरोगका लक्षणमा शरीरमा छालामा थाहा नपाइने दाग, गिर्खा देखा पर्नु, आँखा चिम्लिँदा ठीकसँग बन्द नहुनु, औँलाहरू बाङ्गिनु, र शरीरको विभिन्न भागमा कमजोरी महसुस हुनु जस्ता संकेत समावेश छन्।

कुष्ठरोगको उपचारमा अझ बढी लगानी गर्न, उपचार सेवाहरूलाई सुदृढ पार्न र यससँग जोडिएका लाञ्छना तथा विभेदको अन्त्य गर्नको आवश्यकता रहेको विज्ञप्तिमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?