Butwal Today

असमानता बिरुद्ध कपिलबस्तुमा बृहत रयाली र ज्ञापन

११ माघ २०८१, शुक्रबार
अ+
अ-

कपिलवस्तु , ११ माघ।  कपिलवस्तुको तौलिहवामा असमानता बिरुद्ध बृहत रयाली आयोजना गरिएको छ । गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेशको अगुवाईमा असमानता बिरुद्ध तौलिहवामा बृहत रयाली आयोजना गरिएको हो । रयालीमा सहभागीले विश्वमा मानिस बीचको असमानता बढ्दो क्रममा रहेको र त्यसको व्यवस्थापनका लागि प्राकृतिक स्रोत साधन माथिको पहुँच वृद्धि गर्नुपर्ने माग राखेका थिए ।

जिल्ला प्रशासन कार्यालय चोकबाट बुद्धमाबिको रंगशाला, नयाँटोल, गौढीचौक, चौक बजार हुदै सो पुनः जिल्ला प्रशासन चोकमा पुगेर कोणसभामा परिणत भएको थिए । महासंघ लुम्बिनी प्रदेश, महासंघको कपिलवस्तु शाखा, जिल्लामा क्रियाशिल गैर सरकारी संघ संस्था र नागरिक समाजका प्रतिनिधी बृहत रयालीमा सहभागी थिए । बृहत रयालीका सहभागीले पेरिस सम्झौता कार्यान्वयन गर्नु पर्ने, जलवायु संकट समाधान गर्नु पर्ने, खनिज ईन्धन बन्द गर्नु पर्ने, गरिब श्रमिकलाई नभई धनाढ्यलाई कर लगाउनु पर्ने, आर्थिक असमानता बढाउने निति खारेज गर्नु पर्ने, जिउन पुग्ने ज्यालाको व्यवस्था गर्नु पर्ने, सबै श्रमिकलाई सामाजिक सुरक्षा सुनिश्चित गर्नु पर्ने र गुणस्तरीय सार्वजनिक सेवामा लगानी गर्नु पर्ने माग राखेका थिए । “असमानताका विरुद्ध रातो घेरा कोरौँ । ” भन्ने नाराका साथ महासंघको अगुवाईमा बिभिन्न जिल्लामा खबरदारी रयाली सञ्चालन गरिएको छ ।
रयालीपछि आयोजित कोणसभामा बोल्दै गैसस महासंघका केन्द्रिय सदस्य संजय लम्सालले असमानता हटाउन तथा अधिकारमुखी अवधारणाको बिकासको सुनिश्चितताका लागि देशैभर बृहत रयाली आयोजना गरिएको जनाए । बृहत रयाली आयोजनाले असमानता हटाउने कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउदै आफुहरुले कार्यक्रममा पुर्ण ऐक्यबद्धता जनाएको जिल्ला समन्वय समिति कपिलवस्तुका उपप्रमुख रमेश कुर्मीले बताए ।

सो अवसरमा गैसस महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष जित कुमारी बेल्बासेले सबैलाई समान रुपले प्राकृतिक सम्पदामा पहुँच बढाउन खबरदारी कार्यक्रम आयोजना गरिएको बताईन । सबै खालका बिभेदहरुलाई खारेज गरेर सबैलाई समान व्यवहार गर्न कार्यक्रमले दवाव दिने उनको भनाई थियो । सबै खाले बिभेद र असमानताको बिरुद्धमा जिल्लामा दवाव कार्यक्रम आयोजना गरिएको गैर सरकारी महासंघ कपिलवस्तु शाखाका अध्यक्ष जय प्रकाश पाण्डेयले बताए । स्वीट्जरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ५४ औँ सम्मेलनलाई एजेण्डा तय गर्ने गरी नेपालमा खबरदारी सभा आयोजना गरिएको जनाईएको छ । अहिले स्वीट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चको सम्मेलन जारी छ । यो सम्मेलनले साना र पहुँचको हिसाबले पछि परेका राष्ट्र र नागरिकको आवश्यकताका आवाजलाई समेट्न खबरदारी सभा प्रभावकारी हुने अपेक्षाका साथ गैसस महासंघले खबरदारी सभा आयोजना गर्दै आएको छ ।

कोणसभा पछि गैस महासंघ कपिलवस्तुको अगुवाईमा अधिकारकर्मीहरुको टोलीले बिवाहको उमेर २० बर्ष भन्दा घटाउन नहुने माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ । महासंघ केन्द्रिय सदस्य लम्साल, प्रदेश अध्यक्ष बेल्बासे, जिल्ला अध्यक्ष पाण्डेय, पुर्व जिल्ला अध्यक्ष प्रबिण कुमार श्रीवास्तव लगायत जिल्लाका गैसस र नागरिक समाजका प्रतिनिधीले प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका हुन । ३ बुदे माग सहितको ज्ञापनपत्रमा कानुनी उमेर घटाउनु भन्दा बाल बिवाह अन्त्यका कार्यक्रममा जोड् दिनु पर्ने, सशक्तिकरणका कार्यक्रम प्रभावकारी रुपमा लागु गर्नु पर्ने र मानव अधिकार संरक्षणणमा सम्झौता गर्न नहुने उल्लेख छ । ज्ञापनपत्र बुझदै प्रजिअ अर्यालले आफुले गृह मन्त्रालयमा प्राप्त ज्ञापन प्रेषित गर्ने प्रतिबद्धता जनाएका थिए ।