© २०२३
पाल्पा, १० माघ ।
पाल्पा अस्पतालको बेवास्ताका कारण अक्सिजन प्लान्ट बन्द भएको छ । दक्ष जनशक्तिको व्यवस्थापन र मर्मतसम्भारमा ध्यान नदिँदा अस्पतालमा रहेको प्लान्ट एक वर्ष अघिदेखि बन्द भएको हो । पाल्पा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुको गृह जिल्ला हो ।
कोरोनाको समयमा संघीय सरकारबाट बजेट विनियोजन भई निर्माण भएको अक्सिजन प्लान्ट हाल बिग्रिएर थन्किएको छ । लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतालमा यहीँबाट अक्सिजन वितरण हुँदै आएपनि एक वर्ष यता बन्द छ । बुुष्टरको हेड बिग्रीएकाले प्लान्ट बन्द रहेको अस्पताल विकास समितिका अध्यक्ष गुुराँस आत्रेयले बताए । उनले भने ‘नेपालमा पार्टपुर्जा नपाउँदा अक्सिजन प्लान्ट मर्मत–सम्भारमा समस्या आएको छ । भारतको लखनउबाट पार्टपूर्जा मगाएका छौं, अब केही दिनमा प्लान्ट सञ्चालनमा आउँछ ।’ आफू नेतृत्वमा नभएको बेला अघिल्लो मेसुुले प्लान्ट सञ्चालनमा चासो नदिँदा एक वर्ष अघिदेखि प्लान्ट नियमित सञ्चालनमा आउन नसकेको अध्यक्ष आत्रेयले बताए । उनले एक वर्षदेखि अस्पताललाई आवश्यक पर्ने अक्सिजन मात्र उत्पादन गर्ने र बाहिर नपठाउने गर्दै आएकोमा तीन हप्ता यता भने पूर्ण रूपमै प्लान्ट बन्द रहेको बताए ।
प्लान्ट बन्द भएपनि अस्पतालमा आउने बिरामीहरूलाई अक्सिजनमा कुनै पनि समस्या नरहेको अध्यक्ष आत्रेयले दाबी गरे । उनले भने ‘अहिले प्लान्ट बन्द रहे पनि बिरामीहरूका लागि कुनै समस्या छैन । हामी कोभिडका बेला ल्याएको कन्सटेटरमार्फत अक्सिजनको परिपूर्ति गर्दै आएका छौं ।’ यता बिरामीका आफन्तहरूले भने अक्सिजनकै अभावमा बिरामीलाई अन्यत्र लैजानुपरेको गुनासो गर्दै आएका छन् । केही दिन अघि लुुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम सारुले समेत अक्सिजन प्लान्टको छड्के अनुुगमन गरेका थिए । उनले अस्पताललाई तत्काल प्लान्ट मर्मत गरी सञ्चालन गर्न निर्देशन समेत दिएका थिए । मन्त्रीको निर्देशनपछि अस्पतालका अध्यक्ष आत्रेयले प्राविधिक बोलाएर छिटो भन्दा छिटो पार्टपूर्जा मगाएर प्लान्टर मर्मत गर्न आग्रह गरे । बिग्रिएको सामान फेर्न २ लाख ५० हजार खर्च लाग्ने जनाइएको छ । मेसिनको विषयमा ज्ञान नभएको व्यक्तिले स्वीच अन, अफ गर्दा मेसिनमा समस्या आएको प्राविधिक नवराज बस्यालले बताए ।
२०७८ भदौमा अक्सिजन प्लान्ट जडान गरिएको थियो । संघीय सरकार अन्तर्गत अर्थ मन्त्रालयले २०७८ जेठमा अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो । प्लान्टका लागि अस्पताल नजिकै २६ लाख लागतमा भवन निर्माण गरिएको छ । प्लान्टबाट दैनिक ७० सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ । à