© २०२३
स्थापना भएको ६३ वर्षपछि भैरहवा (सिद्धार्थनगर) स्थित गौतमबुद्ध विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नती भयो । २०१६ सालमा भैरहवाको शान्ति नगरमा स्थापना भई सञ्चालनमा आएको यो विमानस्थल २०७९ साल जेठ २ गते क्षेत्रीय अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नती भई उद्घाटन भएको हो । २०६४ सालदेखि क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नतीको प्रक्रिया शुरुवात भएको थियो । यसबाट के बुझिन्छ भने हाम्रा विकास आयोजनाहरूको स्तरोन्नती वा निर्माण प्रक्रियाको गति सुस्त छ । अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने प्रक्रिया शुरु भएको १५ वर्ष पछि बल्ल निर्माण पूरा भएको देखिन्छ । अब पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन वा राम्रोसँग सञ्चालन हुन कति वर्षको समय लाग्ला ? राष्ट्रिय गौरवको यो आयोजना राम्रोसँग चल्ला कि नचल्ला ? अहिले यो छलफल र बहसको विषय बनेको छ । विशेषगरी भैरहवा–लुम्बिनी क्षेत्रका व्यवसायीहरूले यसको पूर्ण क्षमतामा सञ्चालनको लागि सरकारलाई घच्घच्याउने काम गरिरहेका छन् । बहस, अन्तरक्रिया, धर्ना, ज्ञापन पत्र बुझाउने आदी दवावमूलक कार्यक्रम उनीहरूले सञ्चालन गरे । सङ्घीय सरकारका पर्यटन मन्त्रीलाई स्थलगत अवलोकन र अन्तरक्रिया कार्यक्रममा डाकेर सञ्चालनको लागि सरकारको प्रतिबद्धता लिने जस्ता कार्यक्रम समेत उनीहरूले आयोजना गरिसकेका छन् । तर यसको पूर्ण क्षमतामा सञ्चालनको लागि वातावरण बनाउने काम सरकारले गर्न सकेको छैन् । उद्घाटन भएको एक वर्षसम्म यसको सञ्चालनको लागि ठोस पहल नहुँदा स्थानीय उद्योगी व्यापारी र नागरिक समाज निराश भएका थिए । भैरहवा–लुम्बिनी क्षेत्रमा पर्यटन तथा आतिथ्य क्षेत्रमा भएको खर्ब लगानी जोखिममा परेपछि उद्योगी, व्यापारी र नागरिक समाज निराश हुनु स्वाभाविक थियो । सन् २०२४ को नोभेम्बर ३ देखि फ्लाई दुबई, जजिरा एयरवेज, एयर एसिया, एयर चाइना, कतार एयरवेज र नेपाल एयरलाइन्स जस्ता प्रतिष्ठित विमान कम्पनीहरूले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेपछि भैरहवा मात्र नभई नेपाल राष्ट्रभर नै खुशी र उत्साहको सञ्चार भयो । झण्डै एक वर्ष विमानस्थल सञ्चालनमा नआएपछि नेपाल सरकारलाई दवाव प¥यो । सरकारले अन्तर्राष्ट्रिय बायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न यात्रु सेवा, ल्याण्डिङ् पार्किङ्ग नेभिगेसन, पर्यटन, ह्याण्डलिङ्ग, हवाइ इन्धन आदी शुल्कमा विशेष छुट सुविधाको व्यवस्था ग¥यो । त्यसपछि अन्तर्राष्ट्रिय उडानको लागि विदेशी वायुसेवा कम्पनीहरू आकर्षित भए । पाँच विदेशी अन्तर्राष्ट्रिय कम्पनीले सेवा सञ्चालन गरे । खुशीको सञ्चार भयो । यसैबीच फ्लाई दुबई र जजिराले भिजिविलिटीको समस्या देखाउँदै उडान स्थगित गरेकोमा फ्लाई दुबईले २०२५ जनवरी १३ मा र जजिराले ३१ जनवरीदेखि पुनः उडान सञ्चालन गर्ने जानकारी दिएका छन् । यसले उत्साह फेरी थपेको छ । यसरी विभिन्न शिर्षकमा छुट सुविधा प्रदान गरेर अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई नेपाल सरकारले गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको वातावरण सिर्जना गरेको छ । विमानस्थल सञ्चालनमा आएपछि पनि अझै समस्याहरू छन् । यसको समाधानको लागि अल्पकालीन र दिर्घकालीन योजना बनाउनु आवश्यक छ । भैरहवामा श्रम स्वीकृती, मेनपावर, स्वास्थ्य परीक्षण, कार्गो, क्वारेन्टाइन जाँच सेवा आदी सुविधाको व्यवस्था गर्न सरकारले अझै सकेको छैन । यी पूर्वाधारको व्यवस्था मिलाउन सरकारले प्रकृया अगाडी बढाएको विमानस्थल व्यवस्थापनले जानकारी दिएपनि यसको कार्यान्वयनको प्रत्याभूति मिलेको छैन् । यसलाई छिटो भन्दा छिटो कार्यान्वयन गर्नु जरुरी देखिन्छ । यो व्यवस्था भएपछि मात्र विदेश जाने यात्रुहरूलाई भैरहवामै सुविधा मिल्नेछ र विमानस्थल सञ्चालनमा टेवा पुग्नेछ । अर्को समस्या भारतीय भूमि भएर दक्षिणतर्फबाट विदेशी विमानहरूलाई उडानको लागि भारतले अनुमति नदिएको विषय । यो समस्या समाधानको लागि २३ जनवरी २०२५ देखि भू–उपग्रहमा आधारित अवतरण विधि लागू गरिने र यो अवतरण विधि अपनाएपछि समस्या समाधान हुने जानकारी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रताप तिवारीले दिएका छन् । यसरी भैरहवास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि सरकार र नीजि क्षेत्र प्रयत्नशील छ । तर, यो प्रयास अझै पर्याप्त छैन । सरकारले यसलाई सञ्चालन गरी छाड्ने दृढ अठोट लिएर सोही अनुरूप अल्पकालीन र दीर्घकालीन रणनीति बनाउनु अपरिहार्य भएको छ । अहिले भईरहेको प्रयास अल्पकालीन हो । दीर्घकालसम्म यसको सु–सञ्चालनको लागि व्यवस्था मिलाउन सरकारले ठोस रणनीति अपनाउनु अनिवार्य छ । यसकालागि गौतमबुद्ध विमानस्थल सञ्चालनको लागि अवरोध वा समस्या केलाउँदै समाधानका उपाय खोजी गर्ने र बजार विस्तारका लागि ठोस योजना वा कार्यक्रम तय गरिनुपर्छ । बजारको खोजी र विस्तारको लागि आक्रामक रणनीति तय गरिनुपर्छ । यो विमानस्थलको निर्माणको मुख्यरूपमा दुईवटा उद्देश्य छन् – सङ्घीय राजधानी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भार कम गर्नु र शाक्यमुनी बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा आउने विदेशी पर्यटकहरूलाई सुविधा प्रदान गर्नु । यी उद्देश्य पूरा गर्नको लागि नेपाल सरकार र दातृ निकायको गरि कूल ३२ अर्व बढी रूपैयाँ लगानी गरी यो विमानस्थल निर्माण भएको हो । यसमा एसियाली विकास बैंक (एडिबी) को ऋण र अनुदान गरि झण्डै ४ अर्व र बाँकी नेपाल सरकारको लगानी रहेको छ ।
भैरहवा पुरानो बाणिज्य केन्द्र हो । भैरहवा गाउँ नगरमा रूपान्तरण भएपछि नामकरण शाक्यमुनी बुद्धको वालक कालको नाम सिद्धार्थबाट सिद्धार्थनगर गरिएको हो । बुद्धको जन्मस्थल यहाँबाट करिब २२ किलोमिटरको दुरीमा अवस्थित छ । त्यसैले यसको सम्बन्ध बुद्धको जीवनीसँग जोडिएको छ । यो विमानस्थल लुम्बिनी प्रदेशवासीको भाग्य रेखा हो । साथै गण्डकी प्रदेशको समेत भाग्य रेखा हो । यो बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा आउने विदेशी पर्यटकलाई सुविधा प्रदान गर्ने एकमात्र सुविधायुक्त यातायातको माध्यम हो । श्रीलङ्का, थाइल्याण्ड, चिन, जापान, इण्डोनेसिया, भियतनाम, म्यानमार आदी बौद्ध धर्म बाहुल्य देशका बौद्ध धर्मावलम्बीहरू लुम्बिनी दर्शनमा आउने माध्यम हो यो । नेपालको स्थलमार्गको सबैभन्दा बढी पर्यटक आगमनको मुख्य नाका बेलहीया पनि सिद्धार्थनगरमै रहेको छ । स्थल र हवाई दुबै मार्गको पर्यटक आगमनको सुविधाको केन्द्र हो सिद्धार्थनगर । संसारमा एक अर्व बढी बौद्ध धर्मावलम्बीको सङ्ख्या रहेको अनुमानित तथ्याङ्क छ । ती मध्ये १० प्रतिशत मात्र हरेक वर्ष लुम्बिनी घुम्न आउने हो भने १० करोड पर्यटकले लुम्बिनी भ्रमण गर्दछन् । वर्षमा १० करोड पर्यटक लुम्बिनीले थेग्न मुस्किल पर्छ । एक प्रतिशत बौद्ध पर्यटक आए भने पनि एक करोड हुन्छ । अहिले बार्षिक सरदर स्वदेशी र विदेशी गरी १० लाख जति पर्यटक आउने गरेको तथ्याङ्क छ । यी बौद्ध पर्यटकलाई लक्षित गरी गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नती गरिएको हो । त्यसकारण गौतमबुद्ध विमानस्थल व्यवस्थापन र नेपाल सरकारको पर्यटन मन्त्रालयले संसारका बौद्ध धर्म बाहुल्य देशमा बुद्ध जन्मस्थल लुम्बिनीको व्यापाक प्रचार प्रसारका साथै अहिले त्यहाँ पुग्नको लागि हवाई सुविधा रहेको जानकारीमूलक सन्देश प्रवाह गर्नुपर्छ । विदेशी हवाई कम्पनीहरूले पनि ती देशहरूमा आक्रामक ढङ्गले बजारको खोजी गर्नुपर्छ । यस आधारमा नेपालको सबैभन्दा बढी चल्ने विमानस्थल यही बन्नेछ भन्न सकिन्छ । यसको भविष्य उज्यालो छ । सरकारसँग दृढ अटोट र कार्ययोजना नहुनु यसको कमजोरी पक्ष हो । हिन्दू धर्मावलम्बीको गया काशी, मुश्लिमको मक्कामदिना, क्रिश्चियनको भ्याटीकनसिटी र यहुदीको जेरुसेलम जस्तै बौद्ध धर्मावलम्बीहरूको पवित्र तिर्थस्थल हो– लुम्बिनी । संसारभरका हरेक बौद्ध धर्मावलम्बीले जीवनमा एक पटक लुम्बिनीको दर्शन गर्न चाहन्छन् । शाक्यमुनी बुद्ध स्वयंले जीवनमा एकपटक आफ्नो जन्मस्थल लुम्बिनीको दर्शन गरेमा पाप नास हुने भनि बताएको कुरा बौद्ध साहित्यमा भेटिन्छ । त्यसैले लुम्बिनी क्षेत्र र गौतमबुद्ध विमानस्थलको पर्यटकीय सम्भावना उच्च छ । यो विमानस्थलले बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको मात्र विकास गराउने नभई समग्र लुम्बिनी प्रदेश र नेपाल राष्ट्रकै विकासमा ठूलो योगदान पु¥याउने निश्चित छ । त्यसकारण यो विमानस्थल सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय सङ्कल्प आवश्यक छ ।
यो विमानस्थल सञ्चालनसंगै पर्यटक लक्षित भ्रमणस्थलहरूको छनोट र विकास कार्यक्रम समेत सञ्चालन गरिनु आवश्यक छ । बुद्ध जन्मस्थलको मायादेवी मन्दिर दर्शनका साथै बुद्धले २९ वर्षसम्मको राजकीय जीवन विताएको स्थल कपिलबस्तुको तिलौराकोट क्षेत्र र अस्तु राखिएको स्थल नवलपरासीको रामग्राम एवं मावली तथा ससुराली क्षेत्र देवदह पनि भ्रमण गराउने गरी बौद्ध दर्शनको भ्रमण योजना बनाउनु आवश्यक छ । यसले रूपन्देही, कपिलवस्तु र नवलपरासी तीन जिल्लालाई बुद्ध क्षेत्रको रूपमा संसारभर चिनाउनेछ । पर्यटकहरूको बसाई अवधी लम्बाउनको लागि लुम्बिनी प्रदेश भित्रका अन्य ९ जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरूमा पनि पर्यटकीय पूर्वाधार विकास गर्नुपर्छ र लुम्बिनी आउने पर्यटकहरूलाई त्यहाँ घुमाउने यातायातका साधन र पथ प्रदर्शकको व्यवस्था मिलाउन जरुरी छ । लुम्बिनी दर्शनमा आउने पर्यटकहरू पोखरा र चितवनको भ्रमणमा समेत पुग्ने गर्दछन् । लुम्बिनी प्रदेश पर्यटकीय विकासको उच्च सम्भावना बोकेको क्षेत्र हो । मुख्य पर्यटकीय सम्पदा लुम्बिनी हो । यसैको नामबाट लुम्बिनी प्रदेशको नामकरण गरिएको छ । अन्य सहायक पर्यटकीय सम्पदा पनि प्रशस्त छन् । लुम्बिनीलाई केन्द्रमा राखेर सबै महत्वपूर्ण पर्यटकीय सम्पदाको समुचित विकास र प्रबद्र्धनमा सरकारको ध्यान केन्द्रित हुन जरुरी छ । तबमात्र भैरहवाको गौतमबुद्ध विमानस्थल राम्रोसँग चल्न सक्छ । यो विमानस्थललाई आधार मानेर लुम्बिनी प्रदेश क्षेत्रमा होटल रेष्टुरेन्ट तथा आतिथ्य क्षेत्रमा गरिएको लगानीको प्रतिफल प्राप्त हुन सक्छ । जे होस्, यो क्षेत्रको भविष्य उज्यालो छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी प्रदेशवासीको भाग्य रेखा हो । यो विमानस्थलले गण्डकी प्रदेशको आर्थिक विकासमा पनि ठूलो योगदान दिनेछ ।