© २०२३
बुटवल, ७ माघ । रुपन्देही जारी सुपरलिग क्रिकेट प्रतियोगितामा ‘ए’ डिभिजनमा वेष्टर्न क्रिकेट क्लब बुटवलले लगातार दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा वेष्टर्नले प्रो माष्टर्स -११ लाई ५ बिकेटले पराजित गरेको हो ।
सिद्धार्थनगरपालिकाको सहयोगमा रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङको रोजेको प्रो मास्टर्सले २६.४ ओभरमा सबै विकेट गुमाएर केवल १०६ रनको मध्यम योगफल तयार गरेको थियो । प्रो मास्टर्सका ओपनर अजय रसाईलीले ५० बलमा ३२, मोहमद हुसैनले २८ बलमा २७ रन १२ रन तथा ईमरान खानले १० बलमा १३ रनको योगदान दिए । कम स्कोरमा रोक्न वेष्टर्नका अभिषेक गौतमले शानदार ७.४ ओभर बलिङ गर्दै २० रन खर्चेर २ मेडलसहित शानदार ६ बिकेट लिए । यसैगरि सझाव थापाले ६ ओभरमा बलिङ गर्दै १५ रन खर्चेर ३ विकेट लिए । मध्यम लक्ष्यलाई वेष्टर्नले २१.५ ओभरमा ५ बिकेटको नोक्सानीमा भेटायो ।
वेष्टर्नका ओपनरबाट खराब शुरुवात भयो । ओपनर रन्जित खड्का १ रनमा आउट भए । अर्का ओपनर भुवन पाण्डेलाई ईशान पाण्डेले साथ दिए । भुवनले २४ बलमा २३ तथा इशानले ३५ बलमा ४० रनको योगदान दिए । दुई ब्याट्सम्यानको साझेदारी नै जितको आधार बन्यो । प्रो मास्टर्सका करण साहनीले २ तथा मोहमद हुसैन, दर्श सुनार र कृष्ण पराजुलीले समान १–१ विकेट लिए । खेलमा वेष्टर्नका अभिषेक गौतम प्लेयर अफ द म्याच घोषित हुदै पुरस्कृत भए ।
माघ २९ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले बताए । प्रतियोगितामा रुपन्देहीका ‘ए’ डिभिजनका १० टिमले भाग लिएका छन । मंगलबार लुम्बिनी खुकुरी क्लब र मेलबर्न क्रिकेट क्लबका बिच खेल हुने छ ।