दाङ,७ माघ।
नागरिक समाज दाङले प्रतिनिधि सभाको हिउँदे अधिवेशन नराखी सरकारले अध्यादेशमार्फत काम गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार दाङको घोराहीमा बसेको नियमित बैठकले प्रतिनिधिमुलक शासन व्यवस्थामा संसद बैठकसमेत नबसी अध्यादेश जारी गरिएको प्रति ध्यानाकर्षण भएको जनाएको हो । जनताको आवाज उठाउने र कानून बनाउने थलो. सुचारु नगरेर लामो समयदेखि संसदीय अभ्यास शुन्यको अवस्थामा रहेको भन्दै कानूनी शासनको अभ्यास गर्न अपिल गरेको छ ।
यसैगरी, पछिल्ला दिनमा राजनीतिक दलहरुमा प्रतिशोधको वातावरण देखा पर्दै जानु देश र जनताका लागि हीत नहुने पनि नागरिक समाजले ठहर गरेको छ ।
हालै सम्मानित अदालतभित्र कानून व्यवसायीमाथि भएको हातपातको घटनाले असुरक्षा बढाएको, सामाजिक सञ्जालको दुरुपयोग गरेर समाजमा विभिन्न खालका उत्छृंखल र आपराधिक गतिविधि बढाउने जमात सक्रिय रहेको हुँदा यसले समाजमा दण्डहीनता बढ्दै गएको भन्दै नागरिक समाजले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
नेपालको संविधान, विद्यमान ऐन कानूनले निर्देश गरे अनुसार काम कारवाही प्रभावकारी बनाउन र नागरिकहरुमा भरपर्दो सेवा प्रवाह प्रदान गर्दै सुशासनको अनुभू्ति दिलाउन समेत नागरिक समाजले अपिल गरेको छ ।।।