© 2026
बुटवल, ७ माघ । विश्वभरका पत्रकारलाई समेटेर संस्थागत रुपमा पेशागत हकहित र मर्यादित बनाउने गरि अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका (फिजा) अघि बढ्ने भएको छ । फिजा कार्य समितिको सोमबार अनलाइन प्रविधि मार्फत बसेको बैठकमा बोल्ने बक्ताहरुले पत्रकारहरुको क्षमता विकास र पत्रकारीता पेशलाई मर्यादित बनाउनेमा मुख्य जोड दिने दाबी गरे ।
बैठकमा महासंघका अध्यक्ष रामप्रसाद खनालले अमेरिकाका विभिन्न सहरहरू, नेपाल, क्यानाडाका सल्लाहकारहरू, पदाधिकारी तथा बोर्ड अफ डाइरेक्टरहरुको उपस्थितीमा महासंघको अबको पाटो र योजनाबारे प्रकाश पारे । पत्रकारहरूको अन्तर्राष्ट्रिय छाता सङ्गठन बनाउने गरी संस्था अगाडी बढेको, पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्ने उद्देश्य अनुरूप संसार भर विभिन्न देशहरूमा देश स्तरीय शाखाहरू स्थापना गर्ने तर्फ महासङ्घ अगाडि बढेको र अबका केही हप्तामै त्यसको सुरुवात नेपालमा नेपाल देश स्तरीय शाखा स्थापना गरी अभियान सुरु गर्न लागिएको बताए ।
बैठकमा सल्लाहकारहरू क्रमशः वरिष्ठ पत्रकार योगेश उपाध्याय, पुरुषोत्तम दाहाल, डा बालकृष्ण चापागाईँ, पुरु घिमिरे, विजय घिमिरेले स्वतन्त्र र लिडिङ संस्थाका रूपमा अगाडि बढाउन सुझाव दिए । बैठकमा उपाध्यक्ष अखण्ड भण्डारी, जीवराम भण्डारी, केदार कोइराला, टङ्क पन्त, सतिश चापागाईँले पत्रकारिताका क्षेत्रमा देखिएका विकृति विसङ्गति हटाउन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाले अग्रसरता लिनुपर्ने बताए ।
बैठकले सचिव अनिल अधिकारीलाई सदस्यता मापदण्ड बनाउन र आगामी बैठकमा प्रतिवेदन पेस गर्न जिम्मेवारी तोकेको छ भने अर्का बोर्ड अफ डाइरेक्टर दिनेश कार्कीलाई पत्रकारहरूको विश्वव्यापी नेटवर्क बनाउने कार्यलाई सहयोग पुग्ने गरी डाटा सङ्कलन तथा त्यसलाई व्यवस्थित गर्ने जिम्मेवारी दिएको छ । महासचिव टङ्क दाहाललाई संस्थाको तर्फबाट मनोनयन पत्र, परिचय पत्र र वेबसाइट डिजाइनका लागि जिम्मेवारी प्रदान गरेको छ । सबै महादेशहरू बाट प्रतिनिधित्व हुने गरी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घलाई पूर्णता दिइने प्रयास गरिएको छ भने केही समय भित्रै नेपाल, बेलायत, अस्ट्रेलिया, जापान, क्यानाडा लगायतका देशहरूमा शाखा निर्माण गरिने छ । पेसागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले नेपाली पत्रकारहरूलाई मात्र होइन विभिन्न देशका पत्रकारहरूलाई समेट्दै जाने र जुन सुकै देशको पेसागत पत्रकार पनि यसमा आबद्ध हुन पाउने विधानमा व्यवस्था गरिएको छ ।