Butwal Today

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध

६ माघ २०८१, आइतबार
अ+
अ-

काठमाडौं, ६ माघ।

कानूनी पेशाका व्यवसायीहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोधमा प्रदर्शन गरेका छन्।

आइतबार सर्वोच्च बार एशोसिएशनको नेतृत्वमा कानूनी व्यवसायीहरूले नेपाल बार एशोसिएशनको प्राङ्गणमा एकजुट भएर विरोध प्रदर्शन गरे।

प्रदर्शनमा भाग लिएका कानूनी व्यवसायीहरूले घटनामा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने अधिकार सबैको हुने भन्दै सरकारसँग कानूनी पेशेवरहरूको सुरक्षाको पनि माग गरेका छन्।

गत बुधबार, रवि लामिछानेसँग जोडिएको सहकारीको पीडितको पक्षमा बहस गरेर फर्किंदै गर्दा अदालत परिसरमा एक समूहले वरिष्ठ अधिवक्ता त्रिपाठीलाई लछारपछार गरेको थियो। त्रिपाठीका अनुसार, इजलासबाट निस्किनासाथ उनलाई युट्युबरहरूले घेरेका थिए र जब उनले बहसबारे जवाफ दिन खोजे, “थुनाएर पैसा फिर्ता हुन्छ?” भन्दै समूहले दुर्व्यवहार गरेको बताएका छन्।

त्रिपाठीमाथि गरिएको दुर्व्यवहारको घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। अदालतले रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।