Butwal Today

कोशी प्रदेशमा ५ अर्ब ७८ करोड कर्जा प्रवाह

६ माघ २०८१, आइतबार
अ+
अ-

काठमाडौं, ६ माघ ।

कोशी प्रदेशमा ५ अर्ब ७८ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको तथ्यांक नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकको ‘कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था: संक्षिप्त विवरण’ अनुसार, असार २०८१ सम्म कोशी प्रदेशमा ५ खर्ब ७८ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ, जसको कुल कर्जा प्रवाहको ११.१९ प्रतिशत हो।

यो कर्जा प्रवाहको विवरणमा कुल १ खर्ब ७४ अर्ब १८ करोड प्रवाह भएको उल्लेख छ। जसमा सबैभन्दा ठूलो हिस्सा कृषि क्षेत्रको छ, जसमा ९५ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। त्यस्तै, साना तथा मझौला उद्योगमा ६८ अर्ब २२ करोड, पर्यटन क्षेत्रमा १० अर्ब ३९ करोड, र ऊर्जा क्षेत्रमा ३१ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।

कोशी प्रदेशमा निक्षेपको कुल रकम ४ खर्ब ७७ अर्ब रहेको छ, जसले राष्ट्रिय कुल निक्षेपको ७.३५ प्रतिशत अंश ओगटेको छ। देशको कुल निक्षेप ६४ खर्ब ८७ अर्ब रुपैयाँ बराबर रहेको छ।

त्यसैगरी, कोशी प्रदेशमा बैंक र वित्तीय संस्थाका १,८३७ शाखाहरू छन्, जुन देशभरिका शाखाहरूको १५.९३ प्रतिशत हो। कोशी प्रदेशमा वाणिज्य बैंकहरूको उपस्थिति रहेका स्थानीय तह १३७ रहेका छन्।

कोशी प्रदेशमा डेबिट कार्ड चलाउने ग्राहकहरूको संख्या १७ लाख ३ हजार ८ सय ४२ रहेको छ, जुन देशको कुल डेबिट कार्ड प्रयोगकर्ताको १४.१४ प्रतिशत हो। क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहक संख्या ३१ हजार ५ सय ७९ रहेको छ, जुन कुल हिस्साको ११.९९ प्रतिशत हो।

कोशी प्रदेशमा मोबाइल बैंकिङ प्रयोग गर्नेहरू ३४ लाख १४ हजार १ सय ९९ छन्, जुन कुल हिस्साको १४.३८ प्रतिशत हो, जबकि इन्टरनेट बैंकिङ प्रयोग गर्ने ग्राहकहरूको संख्या २ लाख हाराहारी रहेको छ।

असार २०८१ सम्म, कोशी प्रदेशमा १९ अर्ब ६९ करोड ३० लाख रुपैयाँ बराबर सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ। यसमा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा १२ अर्ब ८८ करोड ७७ लाख, र महिला उद्यमशील कर्जामा ६ अर्ब ७२ करोड २८ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा उपलब्ध भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?