© २०२३
बुटवल ०५ माघ ।
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले विकास निर्माणका नाममा जनतालाई सास्ती नदिन परियोजनाहरू आग्रह गरेका छन्। बुटवल–गोरुसिंगे सडक निर्माण प्रक्रियालाई सहज बनाउनुपर्ने उनको माग छ। केन्द्रीय सदस्य खाँणले भने बुटवल–नारायणगढ सडक निर्माणमा भएको ढिला सुस्तीले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक वातावरणमा समेत असर पुर्याएको भन्दै त्यसले दिएको शिक्षालाई ग्रहण गरेर बुटवल–गोरुसिंगे सडक समयमै निर्माण सम्पन्न गर्न र निर्माणको अवधिमा पनि सवारी आवागमन सर्वसाधारणलाई समेत समस्या नहुने प्रक्रिया अवलम्बन गर्न आग्रह गरे।
पूर्वगृहमन्त्री खाँणले शुक्रबार बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका प्राविधिकहरूलाई भेटेर सडक पूर्वाधार निर्माणमा हुने गतिरोधले अर्थतन्त्रलाई ठूलो प्रभाव पार्ने र स्थानीयलाई पनि समस्या हुने भएकाले समयमै सम्पन्न गर्नेगरी काम अगाडि बढाउन जरूरी रहेको बताए। डेढ–दुई घण्टाको बाटोको यात्रा ५र६ घण्टाको बन्दा सवारीमा इन्धन बढी लाग्ने, समय बढी लाग्ने र बाटोको अवस्थाले सवारी साधन समेत बिग्रिने हुँदा मर्मत सम्भारले यो सडकको यात्रा कष्टकर र बढी भएको भन्दै पूर्व मन्त्री खाँणले भने बुटवल–गोरुसिंगे सडक निर्माणमा यो समस्या नआउने गरी र समयमै कार्यसम्पन्न गर्नेगरी काम गर्न आग्रह गरे।
सडक विस्तारमा कति रुख कटान गर्नुपर्छ, ढुङ्गा गिट्टी कहाँबाट ल्याउने, सबैकुराको पहिल्यै यकिन गरेर काम सुरु गर्न आग्रह गर्दै यातायात आवागमनमा समेत बाधा नपर्नेगरी पार्टपार्टमा काम गर्न पनि आग्रह गरे।
त्यसैगरी लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले पनि सबै बाटो एकै पटक नभत्काई पार्टपार्टमा काम गर्न आग्रह गरे। बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले सबै सडक एकै पटक भत्काउँदा सवारी आवागमनमा समस्या हुने भएकाले सवारी आवागमनका लागि वैकल्पिक मार्गहरूको पहिचान गरेर सोही अनुसार काम गर्न आग्रह गरेका थिए।
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका सूचना अधिकारी राजेन्द्रप्रसाद आचार्यले २०८१ कात्तिक ४ देखि तीन वर्षमा सम्पन्न गर्नेगरी गत असारमा निर्माण व्यवसायीसँग सम्झौता भएको र सडक क्षेत्रमा पर्ने रुख कटानका लागि कटान आदेश अन्तिम चरणमा रहेको जानकारी गराए। सवारी आवागमनमा असर नपर्ने गरी पहिले सडकको क्षेत्राधिकार क्लियर गर्ने र कुल ५० किलोमिटरमध्ये २५र२५ किलोमिटर दुई भागमा विभाजन गरी काम हुने जानकारी गराए। बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका इञ्जिनियर जिगेशप्रसाद चौधरीका अनुसार आयोजनाको कुल लम्बाई ५० किलोमिटर रहेको छ। जसमा शहरी क्षेत्रमा फूटपाथ तथा नालीसहित ५० मिटर, ग्रामीण क्षेत्रमा ३७ मिटर र बन क्षेत्रमा २४ मिटर चौडाइ सडक निर्माण गरिनेछ। उनले भने प्राप्त भएका सुझावलाई ग्रहण गरी सवारी आवागमनमा पनि समस्या नहुने र समयमै सम्पन्न गर्ने गरी निर्माणको काम अगाडि बढाइने उनको भनाइ छ।
पूर्वगृहमन्त्री खाँणले बुटवल उपमहानगरपालिकामा पर्ने तिनाउ नदीमा बाढीले भत्काएको नदिको तटबन्धन र बेडबारको स्थलगत अवलोकन गरेका छन्। मन्त्री खाँणले भने आफु सिँचाइमन्त्री भएका बेला कटान रोक्न तिनाउको दुबै तर्फ तटबन्धन गर्नुको साथै नदीको गहिराइ नियन्त्रणका लागि बेडबार निर्माण गरिएको थियो। त्यसपछि वर्षेनी वर्षामा आएको बाढीले कतिपय ठाउँमा तटबन्धन तथा बेडबार भत्काइदिएको छ। बुटवलको तिनाउ पुल माथि र तलबाट समेत सिँचाइका बाँधहरू रहेको र नदी गहिरिँदै जाँदा सिँचाइको मुहानमा समस्या हुने भएकाले बेडबार बाधिएको थियो। नदीमा भत्किएका तटबन्धन तथा बेडबार अवलोकन गरी उहाँले भने नदी नियन्त्रणका लागि थप बजेट विनियोजन गरी व्यवस्थित गर्न आवश्यक रहेको बताए। यता बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेले बुटवललाई सुरक्षित बनाउन बुटवल उपमहानगरपालिकाले विभिन्न चरणमा बजेट बिनियोजन गरेर काम गर्दै आएको बताए।