Butwal Today

रौतहट प्रहरीः ६ महिनामा अढाई करोड राजश्व संकलन, ६६ तस्कर पक्राउ

४ माघ २०८१, शुक्रबार
अ+
अ-

रौतहट ४ माघ।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले गरी ६ महिनामा झण्डै अढाई करोड रुपैयाँ बराबरको अबैध सामानसहित ६६ जना तस्करलाई पक्राउ गरेको छ।

रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको सक्रियताले विगतको तुलनामा राजस्व संकलनदेखि आपराधिक क्रियाकलापसम्म चौतर्फी सुधार आएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार सार्वजनिक गरेको ६ महिनाको प्रगति विवरणमा गत आर्थिक वर्षको ६ महिनाको तुलनामा यस आर्थिक वर्षको सोही अवधिमा चौतर्फी प्रगति देखिएको छ।

गत साउनदेखि पुस मसान्तसम्म भारतीय बजारबाट तस्करीको माध्यमले भित्र्याएको २ करोड ४२ लाख ७७ हजार ४ सय ४३ रुपैयाँ बराबरको विभिन्न प्रकारको सामान बरामद गरी भन्सारमा बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ। तस्करीमा प्रयोग गरिएको २ थान स्कार्पियो, २ थान पिकअप भ्यान, ४ थान ई रिक्सा, १०८ थान मोटरसाइकल, १४ थान साइकिल बरामद गर्नुका साथै तस्करीमा संलग्न ६६ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको एसपी घिमिरेले बताएका छन्।

हुण्डी कारोबारबाट १५ लाख रुपैयाँसहित ३ जनालाई पक्राउ गरिएको छ। प्रहरीले चोरीको २ थान स्कार्पियो, २१ वटा मोटरसाइकल र चोरीमा संलग्न २४ जना मानिसलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको हो।

सोही अवधिमा कर्तव्य ज्यानका ९ वटा मुद्दा दर्ता भएका मध्ये ५ वटा फर्छट भएका छन्। गत वर्षको सोही अवधिमा ४ वटा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएका थिए, जसमा २ वटा फर्छट भएका थिए। त्यस्तै, जबरजस्ती करणीका १३ वटा मुद्दा दर्ता भएका थिए, जसमा ६ वटा फर्छट भएका छन्। गत वर्षको सोही अवधिमा २१ वटा मुद्दा दर्ता भएका थिए, जसमा १६ वटा फर्छट भएका थिए। लागूऔषधका १५ मुद्दा दर्ता भएका थिए, जसमा १४ वटा फर्छट भएका छन्। गत वर्षको सोही अवधिमा ११ वटा मुद्दा दर्ता भएका थिए, जसमा १० वटा फर्छट भएका थिए।

यसैगरी हात हतियार र खरखजाना सम्बन्धी ६ वटा मुद्दा दर्ता भएका थिए, जसमा ५ वटा फर्छट भएका छन्। चालू वर्षको ६ महिनामा चोरी सम्बन्धी ३८ मुद्दा दर्ता भएका थिए र सबै फर्छट भएका छन्। गत वर्षको सोही अवधिमा ३५ वटा मुद्दा दर्ता र फर्छट भएका थिए।

मुद्रासम्बन्धी ४ वटा मुद्दा दर्ता भएका थिए र सबै फर्छट भएका छन्। एसपी दिलीप घिमिरेको निर्देशनमा संचालित फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत ६ महिनामा २ सय ६४ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्।

राष्ट्रिय तथा सामुदायिक वनबाट तस्करले अबैध रूपमा कटान गरी ल्याएको करीब ११८ क्यूफिट सालको गुलिया काठ, ३ ट्रली बालुवासँगै नदीजन्य पदार्थ ढुवानीमा प्रयोग गरिएका २३ वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको थियो। उक्त कारवाहीबाट ८२ लाख ८ हजार ७ सय रुपैयाँ राजस्व संकलन गरिएको थियो।

उता, रौतहटस्थित ट्राफिक प्रहरीले ६ महिनाको अवधिमा नियमविपरीत चलेका सवारीसाधनलाई गरेको कारवाहीबाट ६८ लाख २४ हजार ५ सय राजस्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।