© २०२३
इस्लामावाद, ४ माघ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ। अदालतले इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ भने उनकी पत्नी बुशरा बीबीलाई ७ वर्षको सजाय सुनाइएको छ।
न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने, “अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ र खान दोषी ठहरिएका छन्।” दुवैलाई दोषी ठहर गरिएको कारण भनेको उनीहरूले मिलेर स्थापना गरेको ‘अल–कादिर ट्रस्ट’ नामक कल्याणकारी फाउन्डेशनमा भएको आर्थिक अनियमितता रहेको अदालतको फैसलामा उल्लेख गरिएको छ।
इमरान खान सन् २०२३ को अगष्टदेखि जेलमा रहेका छन् र उनीमाथि करीब २०० वटा मुद्दा लगाइएका छन्। खानले यी मुद्दा राजनीतिक प्रतिशोधको भाग भएको र आफूलाई सत्तामा फर्कनबाट रोक्नका लागि ती मुद्दा लगाइएका दावी गरेका छन्।
उनकी पत्नी बुशरा बीबी हालसालै जेलबाट रिहा भएकी थिइन्। तर, फैसलापछि शुक्रबार अदालतले उनलाई पुनः पक्राउ गरेको छ। बुशरा बीबी उक्त सुनुवाइको लागि अदालतमा उपस्थित भएकी थिइन्, जहाँ उनलाई तुरुन्तै गिरफ्तारी गरिएको हो।