© २०२३
ललितपुर, ४ माघ ।
अनेरास्ववियु पोखरा विश्वविद्यालय (पियू) राष्ट्रिय कमिटीले आयोजना गरेको दोस्रो पियू अखिल कप फुटसलको उपाधि पोखरा विश्वविद्यालय अन्तर्गत एनसिआइटी कलेजले जितेको छ।
ललितपुरको च्यासल स्थित नेसनल स्पोर्ट्स सेन्टरमा भएको फाइनल खेलमा एनसिआइटी कलेजले लिबर्टी कलेजलाई पराजित गर्दै विजेता बन्न सफल भएको हो। प्रतियोगितामा विभिन्न विश्वविद्यालयका २० कलेजले सहभागिता जनाएका थिए।
प्रतियोगिताको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको थियो भने समापन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
प्रतियोगिताको विजेता एनसिआइटी कलेजले नगद ६० हजार रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता लिबर्टी कलेजले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र पाएको छ।
कार्यक्रममा अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीका अध्यक्ष तथा कार्यक्रम संयोजक उमेश भण्डारीले प्रतियोगितालाई भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन्। यस्ता कार्यक्रमले विद्यार्थी बीच एकता र सहयोगको भावना विकास हुनुका साथै प्रतिस्पर्धा मार्फत श्रेष्ठता हासिल हुने उनले बताए।
दोस्रो पियू कप फुटसल प्रतियोगिता विद्यार्थीहरू बीच खेलकुदको माध्यमबाट एकता र सहकार्यको सन्देश दिन सफल भएको अनेरास्ववियु स्थायी कमिटी सदस्य एवं पोखरा विश्वविद्यालयका इन्चार्ज भरत सिंह धामीले बताए।