© २०२३
बुटवल, ०४ माघ ।
सांस्कृतिक मौलिकता जोगाउने उद्देश्यले बुटवल उपमहानगरपालिका १५ सेमलारमा बाध्यवादन तालिमकोसमापन गरिएको छ । १५ दिने तालिम अन्तर्गत मादल, खैजडी र मजुरा बजाउन सिकाइएको हो । कार्यक्रमको समापनमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अहिलेको समयमा शिक्षासँगै सीप हुनुपर्ने बताए । उनले सीपसहितको शिक्षाले मानिसको जीवन धेरै सहज हुने बताउँदै नगर भौतिक विकाससँगै मानवीय विकासतर्फ अग्रसर भएको बताए ।
समाजमा समानुपातिकरूपमा विकासलाई अघि बढाएको बताउँदै नगरबासीहरूलाई पहिलो प्राथमिकतामा राखेको बताए । नगर प्रमुख पाण्डेयले करोडौँका बजेट विनियोजन गरी गरिएका भौतिक विकासभन्दा यस प्रकारका तालिमले आफूलाई पनि आत्मसन्तुष्टी भएको बताए ।
बुटवल ११ मा रहेको उद्यमशील ट्रेनिङ सेन्टरको संयोजन रहेको कार्यक्रममा बुटवल वडा नम्बर १५ का टोल विकास र आमा समूहका करिब ८२ जना महिलाहरूको तालिममा सहभागिता रहेको थियो । ट्रेनिङ सेन्टरले स्थानीयहरूको आवश्यकतालाई मध्यनजर गर्दै सो तालिम सञ्चालन गरेको सेन्टरका अध्यक्ष राजेन्द्र पाण्डेको भनाइ छ ।
कार्यक्रममा ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष मकरध्वज मल्लले मनबाटै सिकेमा जुनसुकै काम पूर्ण हुने बताउँदै यो तालिम मनोरञ्जन र स्वास्थ्यका लागि निकै राम्रो भएको बताए । यसैगरी पूर्व गाविस अध्यक्ष हरिध्वज मल्लले सिकेको सीपलाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिए । १५ दिनसम्म मादल खैजडी र मजुरा बजाउन सिकाएका प्रशिक्षक विष्णु कडेलले सिकेको सीपलाई निरन्तरता दिन जरुरी रहेको बताए । प्रशिक्षार्थी वसन्ती जोशी भुसाल, इन्दिरा मरासिनी काफ्ले,जया घिमिरे लगायतले १५ दिनको तालिममा बाध्यवादनमा धेरै कुरा सिकेको बताउँदै यसलाई पूर्ण बनाउन अझै यसको एडभान्स तालिम लिन चाहेको बताए । कार्यक्रममा स्वागत गर्दै वडा नम्बर १५ का वडा सदस्य तथा कार्यक्रम संयोजक रमा पौडेल पराजुलीले विभिन्न समयका शुभकार्यमा महिलाहरूले पनि बाध्यवादनका सामग्री बजाउन जान्नैपर्ने भएकाले तालिम दिइएको र फलदायी पनि भएको बताईन । कार्यक्रमको समापन गर्दै वडा नम्बर १५ का अध्यक्ष तथा नगर प्रवक्ता शिव रानाले यसको तालिमले संस्कृतिसमेत संरक्षण हुने बताए ।