© २०२३
गुल्मी, ०४ माघ।
गुल्मीको पनाहा खोलामा पक्की पुल निर्माण भएपछि त्यस क्षेत्रका नागरिकहरूलाई ठूलो राहत मिलेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –४ र इस्मा गाउँपालिका –२ को संगम स्थल पनाहा खोलामा पक्की पुल निर्माण सम्पन्न भएपछि त्यहाँका मानिसहरूलाई दुई पालिकाबीच आवतजावत गर्न निकै सहज बनेको छ ।
पनाहा खोला वारपार गर्नका लागि पक्की पुल नहुँदा त्यस क्षेत्रका मानिसहरूलाई वर्षौदेखि खोला तरेर जोखिम पूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । पुल निर्माण भएपछि यतिबेला उक्त जोखिम टरेको छ । सडक डिभिजन कार्यालय पाल्पाको रु. ५ करोड ६ लाख लागतमा उक्त पुल निर्माण सम्पन्न गरिएको हो ।
रेसुङ्गा नगरपालिकाको वडा नं. ४ देखि इस्माको पालुखा र धुर्कोटको जैसीथोकसम्म पुलले मानिसहरूलाई आवतजावत गर्नका लागि थप सहज बनाएको स्थानीय कमला पन्थीले बताईन । खोला माथि पक्की पुल नहुँदा बर्षादको समयमा मानिसहरूलाई आधा घण्टाको दुरीमा पार गर्ने सडकमा डेढ घण्टाकोे यात्रा तय गर्नुपर्ने बाध्यता भएको स्थानीय टंकप्रसाद श्रेष्ठले बताएका छन । “अहिले पुल निर्माण भएपछि सबैलाई निकै सजिलो बनाएको छ, बर्षादको समयमा खोला तर्दा बगाउलाकी भन्ने डर पनि भएन,” श्रेष्ठले भने ।
पक्की पुल निर्माण भएसँगै मानिसहरूलाई मात्र हैन सवारी साधनहरूबाट आवतजावत र समानहरू ढुवानी गर्न पनि सहज बनेको छ । खोलामा सवारी साधन लैजाँदा पहिले जोखिम मोल्नु पर्ने र कतिपय अबस्थामा सवारी साधनै बगाइदिने गरेको थियो । तर अहिले पुल बनेपछि उक्त जोखिम टरेपछि त्यस क्षेत्रका बासिन्दाहरूमा खुसि बनेका छन ।
निर्माण शुरु भएको चार वर्षपछि पनाहा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको हो । ३५ मिटर लम्वाई र ११ मिटर चौडाई रहेको रहेको पुलको महादेव खिम्ती श्रेष्ठ कन्सट्रक्सन प्रालिले पुल निर्माणको जिम्मा लिएको थियो ।