© २०२३
लमही, ०४ माघ ।
दाङको गढवा गाउँपालिकामा बिहीबारदेखि विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली सुरु गरिएको छ । यो प्रणालीले स्वास्थ्य सेवाहरूलाई व्यवस्थित, छरितो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
गढवा गाउँपालिका स्वास्थ्य शाखाका अनुसार यो प्रणालीले बिरामीको सम्पूर्ण स्वास्थ्य विवरण विद्युतीय रूपमा अभिलेख गरी आवश्यकताअनुसार सहज पहुँच उपलब्ध गराउनेछ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, कर्मा हेल्थका योसिफुमिनन्, मामी सान, राजेन्द्र शाक्य, स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, महिला स्वास्थ्य स्वयंसेविका, र कर्मा हेल्थका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण गंगाप्रसपुर स्वास्थ्य चौकीका प्रमुख ज्ञानकुमार बसेलले गरे । यो प्रणालीले स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा बिरामीको विवरण सुरक्षित राख्न, आवश्यक जानकारी तत्काल उपलब्ध गराउन, र बिरामीलाई उपयुक्त उपचार सेवा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । यसले बिरामीको स्वास्थ्य इतिहास सुरक्षित राख्दै स्वास्थ्यकर्मी र सेवाग्राही दुवैका लागि सहजता ल्याउने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले यो प्रणालीले स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी सुधार ल्याउने र विशेषगरी ग्रामीण क्षेत्रका जनताका लागि “बरदान“ सावित हुने बताएका छन् ।
कर्मा हेल्थका प्रतिनिधि योसिफुमिनन् र मामी सानले गढवा गाउँपालिकामा यो प्रणाली लागू गर्न पाउँदा खुसी व्यक्त गर्दै यसले स्वास्थ्य सेवा उपलब्ध गराउने प्रक्रियामा पारदर्शिता र दक्षता थप्ने बताएका छन् । गढवा गाउँपालिकाले यो प्रणालीलाई गाउँपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूमा विस्तार गर्ने योजना अघि सारेको छ ।