Butwal Today

रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा

३ माघ २०८१, बिहीबार
अ+
अ-

काठमाडौं, ३ माघ ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले अदालत परिसरमा मुक्का हान्ने घटना सम्बन्धी टिप्पणी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आफ्नो असली रूप देखाएको बताएका छन्।

बुधबार काठमाडौं जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दामा बहस भइरहेको अवस्थामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वपाका कार्यकर्ताले आक्रमण गरेका थिए। यस घटनालाई गोकुल बाँस्कोटाले निन्दा गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “अदालत परिसरमै मुक्का हान्दा न्याय मरेको छैन भन्नु, जिउँदो मात्र होइन, माइक टाइसनभन्दा तीन गुणा बलियो रहेको प्रमाणित भयो।”

उनले सवाल उठाउँदै लेखेका छन्, “लामिछानेसँग अझै तीन वटा जिल्लामा सहकारी ठगीका मुद्दा बाँकी छन्। त्यस क्रममा कति वकिलका कालो कोट च्यातिने हुन्? कति काला कोट धुजा धुजा हुने छन्?” बाँस्कोटाले अदालत परिसरको संवेदनशीलता र सुरक्षा नबढ्दा भविष्यमा अझ जटिल परिस्थितिहरू सिर्जना हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

रास्वपाका नेता रवि लामिछानेलाई सहकारी ठगीको मुद्दामा कास्की र काठमाडौं जिल्लामा अदालतले क्रमशः ६५ लाख र ६० लाख रुपैयाँ धरौटीमा छुट गर्नका लागि आदेश जारी गरेका थिए।