© २०२३
काठमाडौं, २८ पुस।
सिद्धार्थ लाइफ केयर एण्ड डाइग्नोस्टिक प्रा.लिकाे मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
कोटहीमाई सामुदायिक सिकाई केन्द्रको आयोजनामा र नेपाल सि.एल.सि. परियोजनाको सहयोगमा शनिबार मर्चवार आदर्श म.वि. मझगावाँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। मर्चवारका स्थानीयवासीहरूको स्वास्थ्य अवस्था सुधार गर्न र उनीहरूलाई उपचारको सुविधा पुर्याउनका लागि यो शिविर आयोजना गरिएको थियो।
सिद्धार्थ लाइफ केयरका संचालक उमेश यादवका अनुसार, “यहाँका स्थानीयवासीहरूलाई उपचारको लागि टाढा टाढा जानुपर्ने अवस्था रहेको थियो, जसका कारण कतिपय बिरामीहरू अस्पताल नपुगेर अपार पीडा भोगिरहेका थिए। यस्तो अवस्थामा हामीले यी मानिसहरूलाई राहत दिने प्रयास गरेका हौं।”
शिविरमा २०० भन्दा बढी व्यक्तिहरूले स्वास्थ्य लाभ लिएका थिए। हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सचिन कार्कीका अनुसार, हाडजोर्नी खिइने, छाला रोग, दम रोग र दीर्घकालीन रोगीहरू जस्तै सुगर र प्रेसरका बिरामीहरू विशेष रूपमा आउने गरेका थिए।
शिविरमा उपस्थित स्थानीयवासीहरूले यस प्रकारको निःशुल्क स्वास्थ्य सेवामा सन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूको भनाइ अनुसार, “यस्तो शिविर प्रत्येक वर्ष आयोजना गर्दा स्थानीयवासीलाई ठूलो फाइदा पुग्ने थियो।”
शिविरमा हाडजोर्नी, बाल रोग, नाक, कान र घाँटी, छाला रोग र मेडिसिनका ४ जना चिकित्सकहरूले उपचार प्रदान गरेका थिए। शिविरमा २ वर्षको बच्चादेखि ७५ वर्षका वृद्धसम्मका व्यक्तिहरूले उपचार लिएका थिए। सिद्धार्थ लाइफ केयरका संचालक समितिले यो जानकारी दिएका छन्।



