दाङ, २८ पुस ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दाङको नवनिर्मित पाँच कोठे पक्की भवनको उदघाटन तथा अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको शिक्षा नीति र शिक्षकको अवस्थाका बारेमा राज्यले धेरै काम गर्न बाँकी रहेको बताए । उनले अहिलेको शिक्षा नीति सुधारका लागि अब सरकारले विशेष रुपमा भुमिका खेल्ने बताए । संसदको आउँदो हिउँदे अधिवेशनमा विद्यालय शिक्षा ऐन ल्याउन ठोस पहल गर्ने बताउँदै उनले यसले अहिले देखा परेका समस्या समाधान हुने बताए । अन्तरक्रियामा जिल्लाको शैक्षिक अवस्था र संगठनका कामबारे जानकारी जिल्ला अध्यक्ष मिनराज शर्माले जानकारी गराएका थिए ।
यसैगरी, शिक्षक महासंघ गठनमा रहेको समस्या र प्रस्तावित विद्यालय शिक्षा ऐनमा समावेश गरिनुपर्ने विषय र शिक्षकका पेशागत शैक्षिक सुधार सम्बन्धित विषय बारे महासचिव पोख्रेल समक्ष माग पत्र पेश गरिएको थियो भने राहत शिक्षक संगठनको केन्द्रीय सदस्य हेमलाल आचार्यले राहत शिक्षकले भोग्दै आएकोे समस्या बारे ध्यानाकर्षण गराउदै समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए । यसैगरी, संगठनका बंगलाचुली अध्यक्ष दुर्गाबहादुर डाँगीले बालविकास सहयोगी र विद्यालय कर्मचारीका समस्या बारे ध्यानाकर्षण गराएका थिए ।
अन्तरक्रियामा सहभागीले शिक्षक र शिक्षा सरोकारका विषयमा संगठनद्वारा स्थानीय सरकार समक्ष यसअघि पेश भएको मागलाई कार्यान्वयनका लागि कडाइका साथ पहल गर्ने निष्कर्ष निकालेका छन् ।
५७ लाखको लागतमा निर्मित पाँच कोठे भवनले संगठनमा आवद्ध शिक्षकहरुलाई संस्थागत काम गर्न सहज भएको छ ।।।