काठमाडौं, २८ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान काठमाडौं जिल्ला अदालतमा सकिएको छ। जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेले केही बेरअघि बयान दिएका थिए। अब, अदालतमा उनका थुनछेक बहस सुरु हुने भएको छ।

लामिछाने अदालत खुल्नुअघि नै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका थिए र बयान दिन थालेका थिए। अदालतले यदि कास्की जिल्ला अदालतको जस्तै धरौटी माग्ने हो भने उनले छुट पाउनेछन्, भने नमागे वा बयान पूरा नगरेमा उनी अझै हिरासतमा रहने जनाइएको छ।
सुर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन हिरासतमा रहि, गत बिहिवार साँझ ६५ लाख धरौटी बुझाएर पोखराबाट मुक्त भएका थिए। पोखराबाट मुक्त भए पनि शुक्रबार अदालतमा उपस्थित हुन नसकेका लामिछाने शनिबार काठमाडौं पुगेपछि बयान दिन अदालतमा हाजिर भएका थिए।
अदालतमा अहिले कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा बयान लिइरहेको छ। यस मुद्दामा लामिछानेसँगै ३९ अन्य व्यक्तिलाई पनि प्रतिवादी बनाइएको छ। उक्त सहकारीबाट ६९० बचतकर्ताका १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरिएको आरोप छ।



