© 2026
बुटवल,२८ पुस ।
कपिलवस्तु उद्योग बाणिज्य संघले १५ औँ कपिलवस्तु महोत्सवको समिक्षा गरेको छ । संघले गत मंसिर १९ गतेदेखि पुस २ गतेसम्म संचालन भएको १५ औँ कपिलवस्तु महोत्सवको समिक्षा गरेको हो । संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले बैठकमा महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्धन गर्नुका साथै उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने काम सफलता पूर्वक गरेको बताएका थिए ।
महोत्सव स्थलभित्र यस क्षेत्रका कृषि उत्पादन र ति उत्पादनको लाखौंले अवलोकन गरेर आवश्यक ज्ञान, सिप हासिल गरेको उनले सुनाए । सो क्रममा उनले महोत्सवको प्रवेशद्धारको अग्रभागमा प्रदर्शन गरिएका पर्यटकिय स्थलका तस्बिरहरूले यस क्षेत्रका पर्यटकिय तथा ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्न सफल भएको बताए । उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव कोशेढुगां सावित भएको बताए ।
उनले बैठकमा महोत्सवले यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन समेत महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । उनले बैठकमा महोत्सव अवधिभर १० करोड ४८ हजार बराबरको आर्थिक कारोबार भएको जानकारी गराए । उनले १५ औं कपिलवस्तु महोत्सवबाट १७ लाख २५ हजार बचत भएको जानकारी दिदैं उक्त रकम व्यवसायीहरूको हकहित र सामाजिक क्षेत्रमा खर्चिने बताए ।साथै महोत्सव अवलोकनका क्रममा घाइते भएका बाणगंगा १ का थमन सिंह ताम्राकारलाई उपचार बापत ५१ हजार रूपैया आर्थिक सहयोग गर्ने निर्णय समेत भएको सघंका कोषाध्यक्ष धिरज खनालले जानकारी दिए ।
संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, पूर्वअध्यक्षहरू उमानाथ पौडेल, यज्ञप्रसाद भट्टराई, देवी पाण्डेले १५ औँ कपिलवस्तु महोत्सवलाई ऐतिहासिक बनाउन सहयोग गर्ने यस क्षेत्रका संघसंस्था, विद्यालय, राजनितिक दल, समाजसेवी, सुरक्षाकर्मी, संचारकर्मी, जिल्लावासी तथा आमदर्शकहरूलाई धन्यवाद दिएका छन् ।
बैठकमा सघंका सल्लाहकार, पदाधिकारी, सदस्य तथा महोत्सव सफल पार्न विभिन्न उपसमितिका जिम्मेवारी पाएका संयोजकहरूको सहभागिता रहेको सघंका महासचिव नवदत्त घिमिरेले जानकारी दिए ।